प्रदेश

दाङमा श्रीमतीको हत्या गरी भारत भाग्न खोज्ने श्रीमान पक्राउ



दाङ, १० वैशाख । दाङमा प्रहरीले श्रीमतीको हत्या गरेर भारततर्फ भाग्न खोजेका श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले आइतबार जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार केसीलाई शुक्रबार राति करिब साढे ९ बजेतिर घोराही उपमहानगरपालिका-३ भवानपुरनजिकै लुकिछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

पक्राउ केसीले गत वैशाख १ गते राति करिब १० बजे आफ्नी ४० वर्षीया पत्नी शारदाकुमारी केसीको हत्या गरी घरनजिकै बारीमा लगेर पुरेका थिए।

बुधबार दिउँसो १ बजेतिर केसीको घरअगाडि महिलाको लाश गाडेको अवस्थामा (खुट्टाको पैताला र अलिकति कपडा) देखिएको भन्ने खबर प्राप्त हुनासाथ जिप्रका दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमसहित अनुसन्धान टोली खटेको थियो। घटनापछि उनी फरार रहेका थिए।

तत्काल घटनाको प्रकृति, बरामद भएका सबुद प्रमाण, स्थानीयहरूको भनाई तथा प्रारम्भिक अवस्थामा प्रविधिको प्रयोग सिडिआर एनालाइसिस एवं घटनास्थलको प्रकृति हेर्दा उनका पतिले कर्तव्य गरी फरार रहेको देखिएको हुँदा उनलाई खोजतलास गरी पक्राउ गरिएको प्रहरीको भनाइ छ।

सोधपुछका क्रममा केसीले पत्नीसँग विवाद हुँदा आफूले मुक्का र अन्य चिज प्रहार गरी हत्या गरेर बारीमा गाडेको स्वीकार गरेको प्रमुख एसपी ओलीले बताए।

वन जङ्गलमा लुक्दै छिप्दै व्यक्तिगत सरसामानसमेत साथमा बोकी भारत जाने तयारी गरिरहेका उनी पक्राउ परेका हुन्। उनीमाथि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी प्रहरीले बालिकालाई ठक्कर दिई फरार रहेका अटोचालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ गुर्जे बस्ने २६ वर्षीय सुवास सुनार रहेको प्रहरीले जनाएको छ।

गत चैत १६ गते घोराही-१२ गुर्जेस्थित पक्की पुलमा नम्बर नखुलेको अटोले तुलसीपुर-१७ बस्ने ५ वर्षीया युविका बुढाथोकी लाई ठक्कर दिएको थियो। उपचारका क्रममा गत चैत २० गते भैरहवास्थित मेडिकल कलेजमा युविकाको मृत्यु भएको थियो।

घटनापश्चात प्रहरीले अनुसन्धान गर्दै हरियो रङको अटोले ठक्कर दिएको भन्ने मात्र खुल्न आएको र थप अनुसन्धान गर्दै सुनारले चलाएको रा १ ह ७००३ नम्बरको अटोले दुर्घटना गराई फरार रहेको भन्ने खुल्न आएको पछि घटना भएको २४ दिनपछि शनिबार उक्त अटो लुकाई छिपाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमका अनुसार अटोचालक सुनार भागेर भारत हरियाणा गएको भन्ने खुल्न आएकोमा उनलाई आइतबार पक्राउ गरी जिप्रका ल्याई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६