सरिता थारु
कपिलवस्तु ११ बैशाख ।कपिलबस्तुको बाणगंगा नगरपालिका–४ कालाबन्जारकी २३ बर्षिया सीता थारुको १२ महिने छोरा विष्णु थारु कडा कुपोषणको समस्यामा छन् । उनी हेर्दा निकै दुब्ला देखिन्छन् । हात र खुट्टा पनि लुला छन् । उनको तौल जम्मा पाँच केजी छ । सामान्यतया १२ महिनाको स्वस्थ बच्चाको तौल कम्तिमा पनि १० केजी हुनुपर्ने हो । २०७८ फागुनमा घरमै सुत्केरी भएकी सीता बच्चा जन्मिएको १२ दिनपछि मात्रै खोप केन्द्रमा गएकी थिइन । पहिलो खोप लगाउने बेला बच्चाको तौल लिइयो । त्यसबेला उनको तौल जम्मा १.५ केजी मात्रै थियो ।
६ महिना पछि आमाको दुधसँगै थप खाना खुवाउनु पर्ने हो । तर सीताले अहिलेसम्म आफ्नो बच्चालाई नियमित खाना खुवाएकी छैनन् । उनी आफैले पनि पोषिलो खाना खान पाएकी छैनन् । ‘प्राय सधै नुन र भात खानुपर्ने बाध्यता छ, त्यो पनि समयमा पाइदैन,’ श्रीमान् हरिरामले भने, ‘बच्चाले पनि केही खादैन । पहिले श्रीमतीले दालको झोल खुवाउँथिन् । अहिले त घरमा दाल पनि छैन के खुवाउनु ?’केहि समय पहिलेसम्म उनको परिवारले छिमेकबाट भैँसीको दुध किनेर ल्याएर बच्चालाई खुवाउने गर्थे । अहिले पैसा अभावले त्यो पनि किन्न छोडेका छन् । उनीहरुको सात जनाको परिवार हरिरामले घर बनाउने काम गरेर कमाएको पैसाले पाल्नुपर्ने बाध्यता छ । मजदुरीको काम पनि महिनाको १५ दिन मात्रै मुस्किलले पाइने हरिरामले बताए ।
सासु पन्चि थारुले सिता गर्भवती हुँदा माछा मासु जस्ता पोषिलो खानेकुरा खुवाउन नपाएको बताइन् । ‘बुहारीले स्वास्थ्य चौकीबाट पाईने आईरन चक्की र क्याल्सियम पनि खाईनन्,’ उनले भनिन्, ‘त्यही भएर होला बच्चा पनि सप्रेको छैन । हाम्रो पालामा त जसोतसो बच्चा हुकार्यौँ । बुहारीलाई त सुत्केरी भएका बेला पैसा नभएर केहि खुवाउन पाएनौ ।’स्वास्थ्य स्वयमसेविकाले दिएको सल्लाह अनुसार उनको परिवारले २५ माघमा बिष्णुलाई बाल पोषण पुर्न स्थापना केन्द्र बुटवल भर्ना गरे । उनलाई ७५ सुत्रिय विधि अन्तर्गत पोषणयुक्त उपचारात्मक खाना पद्धतीबाट उपचार गरिएको केन्द्रकी नर्स पार्वती केसीले बताइन् ।
यस अन्तर्गत उनलाई उमेर र तौल अनुसार चाहिने क्यालोरी र प्रोटिन खुवाइएको र यसलाई बढाएर १०० सुत्रिय विधि अनुसार खाना खुवाइने बताइन् । उनका अनुसार ६ महिनाभन्दा माथिका बालबालिकालाई खानामा थप पोषक तत्व थपेर खुवाइन्छ ।
केन्द्रमा बालबालिकाको अवस्था अनुसार कम्तिमा पनि १५ दिन देखि २८ दिनसम्म राखेर उपाचार गर्नुपर्छ । विष्णुको उचाईमा ९० प्रतिशतसम्म सुधार भएको र उमेर अनुसार तौल बृद्धि नभएकाले केहि दिन केन्द्रमा राखेर उपचार गर्नुपर्ने थियो । तर, आमा सीताले नमानेपछि डिस्चार्ज गर्न बाध्य भएको नर्स पार्वती केसी बताउँछिन् ।
अर्को उदाहरण छ गरिबीको कारण कुपोषण दुश्चक्रमा परेकी १४ महिने दिक्षा चौधरीको । स्थानीय बाणगंगा नगरपालिका– ११ बनकटवाकी दिक्षालाई बेला बेला झाडापखालाले सताईरहन्छ । आमा करिश्माका भनाइमा, सम्पत्तीको नाममा एउटा कोठा छ । त्यही कोठामा चार जनाको परिवार बस्छन् । घरायसी कामको बोझ, ऋणधनको चिन्ता र श्रीमान्को असहयोगी व्यवहारले उहालाई बेलाबेला मानसिक तनाब पनि भइरहन्छ । त्यसैले उनले आफ्नो बच्चालाई राम्ररी रेखदेख गर्न नपाएको बताइन् ।
उनका श्रीमान् कामको शिलशिलामा भारतमा छन् । घरमा आउँँदा श्रीमान्ले जाड रक्सी खाने र जुवा तास खेलेर पैसा सक्ने गरेको र त्यसै कारण आफुलाई मानसिक तनाव हुने उनले बताइन् । ‘माईतीले सहयोग नगरे त हामी भोकै पनि बस्नुपर्छ,’ उनले भनिन् ।
दोस्रो सन्तानको रुपमा जन्मिएकी दिक्षाको तौल दुई किलोग्राम थियो । अहिले उनको तौल १४ महिनामा बढेर ६ किलो पुगेको छ । उनको घरमा पुगेर स्वास्थ्य स्वयमसेवीका नाप र तौल लिएपछि मात्र करिस्माले छोरीलाई कुपोषण भएको थाहा पाइन । छोरी अहिले कडा कुपोषणबाट प्रभावित छन् ।त्यसो त करिस्मा आफै शारिरिक रुपमा कमजोर छिन् । उनले बच्चा जन्मिएको तीन महिनामै आफ्नो दुध सुेकेको बताइन् । ‘हल्का पानी मात्रै आउँछ । त्यहीँ खुवाएर बच्चा हुर्काएकी छु । अरुखानेकुरा खुवाउन पैसा छैन्,’ उनले भनिन् ।
उनी घरदेखि करिब चार किलोमिटर दुरीमा रहेको हथौसा स्वास्थ्य चौकीमा पटक–पटक बालभिटा र आरयुटिएफ (बच्चाको लागि तयारी पोषक खाना) लिन गइन । तर पाईनन् । स्वास्थ्य चौकीका प्रमुख राजु सुनारी कहिले काही बालभिटा र आरयुटिएफ सकिने गरेको बताउँछन् । सुनारीका भनाइमा, पालिकाले नै नपठाएकाले आरयुटिफ सकिएको तर अहिले केही परिमाणमा बालभिटा आएको छ ।बाणगंगा नगरपालिका मोतिपुर स्वास्थ्य चौकी कपिलबस्तुका प्रमुख हिमलाल घिमिरेले यो खाना बच्चालाई एक दिनमा कम्तिमा २ पटकसम्म खुवाउन मिल्ने बताए । यो प्याकेटमा पाईने भएकाले १ पटकमा १ प्याकेट सबै खुवाउनु पर्ने उनले बताए । बच्चाको अवस्था हेरेर कम्तीमा ६० दिनसम्म नियमित खुवाउनु सकिने उनको भनाई थियो ।
यसो गर्दा पनि बालबालिकाको स्वास्थ्यमा सुधार नआए बच्चाको अवस्था हेरेर अस्पताल वा बालपोषण पुर्नस्थापना गृह बुटवल रेफर गर्ने गरेको उनले बताए । मोतिपुर स्वास्थ्य चौकीबाट अहिले चार जना बालबालिकाले आरयुटिफ खाना खाइरहेका छन् । बालभिटा र आरयुटिएफ केन्द्रबाटै आउने भएकाले आवश्यकता अनुसार कहिलेकाँहि अभाव हुने गरेको उनको भनाइ छ ।बाणगंगा– ११ भड्सरवाकी २३ बर्षिय सरस्वती थारुको दोस्रो सन्तान सुमितलाई पनि कडा खालको कुपोषण छ । १५ महिनाका सुमित अहिले ७ किलोग्रामका छन् । सुमितलाई झाडापखाला र ज्वरोले सधैजसो सताईरहने आमा सरस्वती बताउँछिन् ।‘एक दिन जाउलो बनाएर खुवाउन खोजेको खान मानेन, त्यसपछि मैले पनि खुवाउन छोडिदिए,’ उनले भनिन्, ‘अण्डा मात्रै अलिअलि खान्छ । भैसीँको दुध दिनदिनै खुवाउँछौ । तर पनि बाबुको ज्यानमा शक्ति छैन ।’
आमा सरस्वतीका अनुसार उनलाई अहिले पनि कडा खालको कुपोषण छ । ‘हेल्थ पोष्टमा मेरो बाबु दुब्लो छ, भनेर धेरै पटक औषधी माग्न गए । तर जहिले पनि छैन, सकिएको छ मात्र भन्छन,’ उनले भनिन्, ‘अहिले त जानै छोडे । बरु म अहिले बाबु बिरामी परे ओदारी बजारको मेडिकलमा जान्छु ।’१९ बर्षमा विवाह गरेकी सरस्वतीले २० बर्षमा पहिलो र २२ बर्षमा दोस्रो सन्तान जन्माएकी हुन् । श्रीमान्ले छोरा पेटमा भएका बेलामा पनि सधै जांड रक्सी खाने र कुटपिट गर्ने गरेका कारण आफ्नो र बच्चाको स्वास्थ्य बिग्रिएको बताइन् । ‘जबसम्म आफ्नै श्रीमान्को पिटाई र अपशब्द सुन्दै बस्नुपर्छ, तब घरमा सबै थोक भएर के गर्नु ?’ उनले भनिन् । दुई सन्तानकी आमा उनको तौल अहिले ३५ किलो मात्रै छ ।
बाणगंगा–३ तिलकहनाकी १८ महिने सोनम थारु पनि कडा कुपोषणको समस्या भोगिरहेकी छिन् । सबिताको पहिलो सन्तान उनको तौल तीन किलोग्राम थियो । अहिले उनको तौल ७.५ किलो पुगेको छ । बच्चा जन्मेको ६ महिनापछि पोषिलो खाना खुवाउनु पर्ने हो । तर सविताले छोरीलाई घरायसी कामको बोझका कारण पर्याप्त पोषिलो खानेकुरा खुवाउन नपाएको बताइन् ।
छोरीले लिटो तथा जाउलो खान नमानेकाले आफुहरुले दैनिक खाने आलुको तरकारी र भात खुवाउने गरेको उनले बताइन् । उनले छोरीलाई ९० दिनसम्म आरयुटिएफ खुवाउनुपर्नेमा जम्मा ४५ दिन मात्र खुवाएको बताइन् । उनकी छोरीलाई पहिले कडा कुपोषणबाट ग्रसित भएकोमा अहिले मध्यम खालको कुपोषण छ । स्वास्थ्य चौकी प्रमुख राजु सुनारीले आरयुटिएफ सकिएको र आफुहरुले सोझै खरिद गर्न नमिल्ने बताए । ‘नगरपालिकाले पठाए मात्रै हामीले पनि वितरण गर्ने हो,’ उनले भने, ‘नगरपालिकामा जिल्ला हुँदै प्रदेशबाट आउँछ ।’ लामो प्रकिया पुरा गरेर आउने भएकाले सकिएको बेला तत्कालै उपलब्ध नहुने उनको भनाइ छ । सुनारीका भनाइमा, स्वास्थ्य चौकीमा अहिले भिटामिन ए, मेट्रोन र परिवार नियोजनका साधनको समेत अभाव छ ।
कपिलवस्तुका यी कुपोषित बालबालिका केहि उदाहरण मात्रै हुन् । यहाँका धेरैजसो बालबालिका गरिबी र परिवारको हेरचाह नपाएका कारण कुपोषणको शिकार छन् । बाणगंगा नगरपालिका कपिलवस्तुको १० वटै स्थानीय तहमध्ये सबैभन्दा शिक्षित र विकसित नगरपालिकाको रुपमा चिनिन्छ । तर यहीँ नगरपालिकामा पनि कुपोषित बालबालिकाहरु भेटिएका छन् ।
यस पालिकाका प्रायः थारु समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । यहाँ प्राय घरमा तरकारी लगाउने करेसाबारी भए पनि लगाउादैनन् । हथौसा स्वास्थ्य चौकीका प्रमुख राजु सुनारीले अभिभावकले नै बालबालिकाको खानापानमा ध्यान नदिँदा र सन्तुलित भोजन तयार गर्न नजानेका कारण कुपोषणको समस्या निम्तिएको बताए ।
‘दुई बर्षमा २३ पटकसम्म बालबाललिकाको बृद्धि अनुगमन गर्नुपर्ने हो,’ सुनारीले भने, ‘तर खोप लगाउन्जेल मात्रै बच्चाको तौल लिन आउँछन् । बढीमा ५ देखि ६ पटकसम्म मात्रै बच्चाको नियमित तौल लिने गरेको देखिन्छ ।’बाणगंगा नगरपालिकाले २०७९ साल १२ माघदेखि ४ फागुन सम्म सञ्चालन गरेको २ बर्षमुनिका बालबालिकाहरुको पोषण बृद्धि अनुगमन तथा पोषण जाँच शिविरमा नगरपालिकामा ८ जना कडा सिघ्र कुपोषण भएका बालबालिका फेला परे । यस्तै ४३ बालबालिकामा मध्यम कुपोषण देखियो ।
नगरपालिका भरका २ हजार ३७ बालबालिकाको बृद्धि अनुगमन तथा पोषण जाँच गरिएको र केही बालबालिका छुटेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । उता कपिलबस्तु नगरपालिकाले पनि दुई बर्ष मुनिका बालबालिकाको पोषणको अवस्था जाँचको कार्यक्रम संञ्चालन गरिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका जनस्वास्थ्य निरिक्षक तथा पोषण फोकल पर्सन उमेशचन्द्र घिमिरेले सामान्य बालबालिकाको तुलनामा कुपोषितलाई १० गुणा बढी जोखिम हुने र भविष्यमा उनीहरुबाट जन्मिने शिशुमा समेत कुपोषणको जोखिम रहने बताए ।
पोषणमा पालिकाको न्यून बजेट
कुपोषणको समस्या चर्को देखिएपनि जिल्लाका १० वटै पालिकाले पोषणको क्षेत्रमा छुट्याएको बजेट न्यून देखिएको छ । आर्थिक बर्ष २०७९÷०८० का लागि बाणगंगा नगरपालिकाले पोषण अन्तर्गत किशोरीहरुलाई आईरन चक्कि वितरण गर्न ३ लाख र २ बर्ष मुनिको बालबालिकाको बृद्धि अनुगमन तथा पोषण जाँचका लागि ५ लाख ५० हजार रुपैया बजेट छुट्याएको छ ।
यस्तै, संघिय सरकारबाट ४ लाख ५३ हजार बजेट विनियोजन भएको छ । नगरपालिको सुनौला हजार दिनका आमाहरुलाई ६ हप्ते कुखुराको चल्ला वितरण अन्तर्गत ७५ हजार र सुनौला हजार दिनका आमालाई ४ हप्ते कुखुराको चल्ला वितरण गर्न २ लाख ७५ हजार बजेट छुट्याएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत संघिय सरकारको २५ लाख गरि कुल ३८ लाख ३ हजार बजेट विनियोजन भएको छ ।
कपिलबस्तु नगरपालिकाले किशोरिहरुलाई आईरन चक्की वितरणका लागि १ लाख, अस्पतालमा जन्मेका बालबालिकालाई थप पोषण भत्ता स्वरुप ५ लाख र भिटामिन ए कार्यक्रममा स्वास्थ्य स्वयमसेविकालाई खाजा एवं यातायात भत्ताका लागि १ लाख १० हजार बजेट छुट्याएको छ ।यस्तै, २ बर्ष मुनिका बालबालिकाको पोषण अवस्था जाँच्न २ लाख ५० हजार र नेपाल सरकारको सर्सत बजेट अन्तर्गत ४ लाख ९३ हजार रकम विनियोजन भएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रममा संघिय सरकारले १६ लाख बजेट गरि कुल पोषणको क्षेत्रमा रु.३० लाख ५३ हजार बजेट छुट्याइएको छ ।
बुद्धभुमि नगरपालिका
आर्थिक बर्ष २०७९/८०
बहुक्षेत्रिय पोषण कार्यक्रम
संघिय सरकारबाट रु.१६ लाख
नगरपालिकाबाट १० लाख २ हजार
शिवराज नगरपालिका
चालु आर्थिक बर्ष
बहुक्षेत्रिय पोषण कार्यक्रम
संघिय सरकारबाट रु.१७ लाख
नगरपालिकाबाटरु.४लाख
स्वास्थ्यतर्फ पोषणमा रु.४ लाख ५६ हजार
उपमेयर कोषबाट मातृ शिशु कार्यक्रमका लागि रु.१०लाख
महराजगंज नगरपालिकामा
स्वास्थ्यतर्फ सर्सत रु.५ लाख १ हजार
बहुक्षेत्रिय पोषण कार्यक्रममा संघबाट रु१६ लाख
नगरपालिबाट रु. ५ लाख
कृष्णनगर नगरपालिका
रु.५० हजार
संघिय सरकारबाट ४ लाख ५३ हजार
बहुक्षेत्रिय पोषण तर्फ रु.१६ लाख
विजयनगर गाउपालिका
बहुक्षेत्रिय पोषण कार्यक्रम
संघिय सरकारबाट रु. १६ लाख
नगरपालिकाबाट रु. ४ लाख गरि
मायादेवि गाउपालिका
स्वास्थ्य तर्फ संघिय सरकारबाट रु.४ लाख
बहुक्षेत्रिय पोषण तर्फ संघिय सरकारबाट रु १६ लाख
शुद्धोधनगाउपालिका
गर्भवती पोषण कोशेली अन्तर्गत रु. ३० लाख
वडा स्तरिय पोषण कार्यक्रममा १७ लाख
स्वास्थ्यमा पोषणतर्फ १ लाख ५० हजार
संघिय सर्सत कार्यक्रमबाट ३ लाख ५० हजार
संघियबाट बहुक्षेत्रिय पोषण कार्यक्रममा २६ लाख
यशोधरा गाउपालिका
बहुक्षेत्रिय पोषण कार्यक्रममा संघबाट रु.१६ लाख
नगरपालिकाको रु.८ लाख
स्वास्थ्य तर्फ नगरपालिकाको रु.९ लाख
संघियबाट ससर्त ५ लाख ६१ हजार
कतीछन् कुपोषित बालबालिका ?
जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७९/०८० को ६ महिना पुस मसान्तसम्म मात्रै २ बर्ष मुनिका १ हजार ३ सय ८७ बालबालिकाहरु कम तौल भएर कुपोषित भएको भेटिएको छ । यी मध्ये २ सय ८९ जना कडा खालको कुपोषित छन् । आर्थिक बर्ष २०७८/०७९ मा जिल्लामा कुल २ हजार १ सय ९३ बालबालिका कम तौलका भेटिएका थिए । यस्तै आर्थिक बर्ष २०७७/०७८ मा २ हजार १ सय ५८ र आव २०७६/०७७ मा २ हजार ४ सय ३० बालबालिका कम तौलका भेटिएकोे तथ्यांक छ ।
जिल्लामा अझै ४० प्रतिशत २ वर्ष मुनिका बालकालिकाहरु कम तौलका छन् । यस्तै, पाँच प्रतिशत बालबालिकाहरुमा गम्भिर खालको शिघ्र कुपोषणको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका जनस्वास्थ्य निरिक्षक तथा पोषण फोकल पर्सन उमेश चन्द्र घिमिरे बताउँछन् ।पोषण पुर्नःस्थापना केन्द्र बुटवलमा आर्थिक बर्ष २०७९/०८० को चैत २६ सम्ममा दुई बर्ष मुनिका कुल १ सय ५ जना बालबालिका भर्ना भएका थिए । यीमध्ये कपिलबस्तुका २० जना कडा खालको कुपोषणको समस्या भोगिरहेका बालबालिकाहरु भर्ना भएर सेवा लिएको केन्द्रकी नर्स पार्वती के.सीले बताइन् । यी मध्ये १५ बालक र ५ बालिका छन् ।
कपिवस्तु जिल्लामा पोषणको बास्तविक स्थिति पत्ता लगाउन प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले गरेको न्यूट्रीसन स्मार्ट सर्भेको प्रारम्भिक रिपोर्ट अनुसार कपिलबस्तुमा दुई बर्ष मुनिका कम तौल भएका बालबालिकाको संख्या ४० प्रतिशत र पाँच प्रतिशतमा कडा खालको कुपोषण देखिएको छ । तराईका २१ जिल्लामध्ये कपिलबस्तु अन्न भण्डारको रुपमा चिनिन्छ । तर यही अन्न भण्डारमा झण्डै आधार बालबालिका कुपोषणको शिकार छन् ।
खाद्य उत्पादनको अवस्था
जिल्लामा आर्थीक वर्ष २०७९/०८०मा २ लाख ६९ हजार ७ सय ६९ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै २०७८/७९ मा दुई लाख ११ हजार ४ सय ९ मेट्रिक टन धान उत्पादन भएको छ । योमध्ये ६६ हजार ३ सय ७० मेट्रिक टन बाहिरी जिल्लामा निर्यात भएको कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्र नाथ चौबेले बताए । यस्तै, सोही आर्थिक बर्षमा ५९ हजार ८ सय ३५ मेट्रिक टन तरकारी उत्पादन भएकोमा ३ सय ३९ मेट्रिक टन बाहिरी जिल्लामा निर्यात भएको छ ।यस्तै, आर्थीक वर्ष २०७८/०७९ मा १७ हजार ६ सय २३ मेट्रिक टन फलफुल यो जिल्लामा उत्पादन भयो । यो मध्ये ९ सय ६६ मेट्रिक टन बाहिरी जिल्लामा निर्यात भयो।
चालु आर्थिक बर्षमा धानको उत्पादन बढेको तथ्यांक छ । जिल्लामा यस बर्ष २ लाख ६९ हजार ७ सय ६९ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाउँछ । केन्द्रका अनुसार जिल्लामा आर्थिक बर्ष २०७७/०७८ मा २ लाख ७१ हजार ९ सय ८४ मेट्रिक टन धान, ३ हजार ४ सय ५१ मेट्रिक मकै, ८२ हजार ५ सय ३० मेट्रिक गहँ र ५९ हजार ८ सय ३५ मेट्रिक तरकारी उत्पादन भएको छ । यस्तै, सोही आर्थिक बर्षमा कागती, आँप, केरा, कटहर, लिची गरि १७ हजार ५ सय ३१ मेट्रिक टन फलफुल उत्पादन भएको तथ्यांक छ । तर यतिराम्रो उत्पादन अवस्था भएपनि जिल्लामा पोषण तत्वको अभावमा झण्डै आधा बालबालिका कुपोषण ग्रस्त छन् ।
प्रतिक्रिया