प्रदेश

ठेकेदारको लापरवाहीले ५ वटा पुल निर्माणको काम अधुरै



बाँके, १३ वैशाख ।
बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर ललितबहादुर न्यौपानेले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न हुन नसकेका पाँच पुलमध्ये गाल्भारसिद्धार्थ दर्शन जेभीले ठेक्का पाएका तीन र अञ्जना यादव जेभीले ठेक्का पाएका दुईवटा पुल अझै अधुरै छन् ।

ती पुलमध्ये गाल्भाले निर्माण गरिरहेका तीन पुलको काम सम्पन्न गर्नुपर्ने समय एक वर्ष थपिएकामा सो समय पनि सकिन लागेको र अञ्जना यादव जेभीले निर्माण गरिरहेको दुई पुलको समेत सम्झौता म्याद सकिए पनि पुल अधुरै रहेको छ । वर्षायाम सुरु हुन लाग्दासमेत पुलको काम सम्पन्न नभएपछि स्थानीयवासीलाई आवतजावतकै चिन्ताले सताउन थालेको खजुरा–२ का अगुवा कृषक गेहेन्द्र धितालले बताए ।

किरणनाला खोलामा पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावत र कृषि उपज नेपालगञ्जसम्म पुर्याउन धेरै कठिनाइ हुने गरेको उहाँको भनाइ छ । खजुरा गाउँपालिका–२ ‘सी’ गाउँस्थित किरणनालामा निर्माणाधीन पुल गाल्भाले बनाउन लागेको २० महिना भइसक्यो । पच्चीस मिटरको सो पुल २०७९ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी कम्पनीले २०७७ फागुन १९ गते सम्झौता गरेको थियो तर हालसम्म ३५ प्रतिशतमात्र काम भएको छ ।

गाल्भाले नै बाँकेको वैजनाथ गाउँपालिका–५, वनखेतमा रहेको किरणनालामा २५ मिटरको पुल र जानकी गाउँपालिका–४ छत्रपुरमा रहेको किरणनालामै २५ मिटरको पुल निर्माण सोही समयमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर सम्झौताको निर्धारित मितिसम्ममा कम्पनीले दुवै पुलको काम करिब ४० प्रतिशतमात्र पूरा गरेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर न्यौपानेले बताए ।

गाल्भाले खजुराको किरणनालामा रु पाँच करोड ८५ लाख, वैजनाथको वनखेतमा रु चार करोड ७२ लाख र जानकीको छत्रपुरमा पुल निर्माणका लागि रु पाँच करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले खजुरा गाउँपालिकाको पुलको काम ४५ प्रतिशत सम्पन्न गरेको छ भने वैजनाथमा ५० प्रतिशत र जानकीमा ३० प्रतिशतमात्र काम सम्पन्न गरेको छ । थपिएको म्याद सकिन चार महिनामात्र बाँकी रहेकाले कम्पनीले काम सम्पन्न गर्न नसक्ने स्थिति देखिएको छ ।

बाँकेमा दुईवटा पुलको ठेक्का पाएको अञ्जना यादव जेभी अहिले सम्पर्कविहीन छ । उक्त कम्पनीले निर्माण गरिरहेको दुईवटा पुलको सम्झौता मिति सकिए पनि कम्पनी सम्पर्कमा नआएको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख न्यौपानेले बताए । उक्त कम्पनीले २०७८ भदौमा खजुरा गाउँपालिका–१ मा ३० मिटरको पुल रु पाँच करोडमा निर्माण गर्ने सम्झौता गरेको थियो । एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो तर निर्धारित समय पूरा भए पनि अझै पुल निर्माण सकिएको छैन ।

गाउँपालिकामा अधुरा रहेका पूर्वाधार विकासका योजना सम्पन्न गराउन सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरे पनि काममा प्रगति हुन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । उनले गाउँपालिकामा निर्माणको काम गरिरहेका सबै निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न पत्राचार गरिएको बताए । रासस

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६