जानु पाण्डे
कपिलवस्तु १४ वैशाख । कपिलवस्तु, वैशाख १३ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा निर्माण हुँदै गरेको नगर औद्योगिक ग्राम अलपत्र परेको छ । सङ्घीय सरकारको अनुदानबाट नगरपालिकाको वडा–९ बर्दहवामा निर्माण हुँदै गरेको औद्योगिक ग्राम चार वर्षदेखि अलपत्र परेको हो । कोइली नदीको किनारमा रहेको जग्गालाई २०७७ मा डीपीआर गरी औद्योगिक ग्राम बनाउने योजना ल्याएको थियो । डीपीआरअनुसार ८.९३ हेक्टर क्षेत्रफलमा निर्माण हुने ग्राममा ५१ करोड रुपियाँ खर्च हुने अनुमान छ ।नगरपालिकाका सूचना अधिकृत केशव भट्टराईका अनुसार सङ्घीय सरकारले बजेट कटौती गर्दा औद्योगिक ग्राम अलपत्र परेको बताउनुभयो । डीपीआरपछि आर्थिक वर्ष २०७७÷७८ मा योजना सञ्चालनका लागि बजेट आएको बताउनुभयो ।
पहिलो वर्ष निर्माणस्थलको पश्चिमतर्फ पर्खाल निर्माण गरिएको छ । जसका लागि ४१ लाख ९४ हजार रुपियाँ खर्च भएको थियो । निर्माणस्थलको एकतर्फ मात्र पर्खाल लगाइएको छ । नदीको बहावले कटान गर्ने क्षेत्रमा कुनै काम भएको छैन । उद्योग सञ्चालनको प्रचुर सम्भावना रहेको पालिकामा काम रोकिँदा उद्यमीलाई समस्या हुने स्थानीय बाबुराम रायमाझीले बताउनुभयो ।योजनाका लागि २०७७÷७८ बाट बजेट विनियोजन नभएको कार्यालयले जनाएको छ । सङ्घीय सरकारले रकम पठाएको छैन । पालिकाले ठूलो लगानी गर्न सक्ने सामर्थ्य छैन । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना बाउण्ड्री वालमा मात्र सीमित रहेकाले उद्योग सञ्चालन गर्नका लागि जग्गा खरिद महँगो मूल्य खर्चिनुपर्ने बाध्यता रहेको स्थानीय उद्यमी नेत्र पाण्डेले बताउनुभयो ।
१४ बैशाख २०८०, बिहिबार
प्रतिक्रिया