प्रदेश

सिद्धबाबा क्षेत्र अव रातिमा मात्रै बन्द हुने




बुटवल, १७ वैशाख ।
दिउँसोको समयमा मात्र बन्द हुँदै आएको बुटवल–तानसेन सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्र रातिमा मात्र बन्द हुन थालेको छ । गत चैत २१ गतेदेखि दिउँसो ११ बजेदेखि २ बजेसम्म दिनहुँ बन्द हुँदै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड गत शुक्रबारबाट रातिमा मात्र बन्द हुन थालेको हो ।

निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणको विरोधपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा अब रातिमा मात्र बन्द गरेर काम थालिएको छ । उत्तर दक्षिण सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्ग पूर्वतयारीको काम गर्न दैनिक नौ घन्टा बन्द हुँदै आएकामा अब रातिको ६ घन्टा मात्र बन्द हुनेछ ।

राजमार्ग सुरक्षा समितिको बैठकले गत चैत २१ गतेबाट अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म साथै राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो । निर्माण व्यवसायीले सुस्त काम गरेको, दिउँसोमा सवारी चाप अधिक रहेको, बुटवल–नारायणगढ लगायतका सडकका कारण यस क्षेत्रमा दिउँसोमा सवारी चाप अधिक रहेकाले यात्रु, सवारी चालकको दबावका कारण दिउँसोमा गरिएको बन्द हटाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा आवागमन बन्द गर्न माग गरे पनि काममा भने तीव्रता नदिएकाले यात्रुले विरोध गर्दै आएका थिए । तिनाउ गाउँपालिका–३, झुम्सादेखि बुटवलसम्म खानेपानीको पाइप गाड्ने र नाली बनाउने कामका कारणसमेत थप तीन घन्टा यात्रुले सास्ती पाउने समस्या थियो ।

तिनाउ–३, झुम्साका स्थानीय कृष्णप्रसाद पाण्डेयका अनुसार यात्रु, चालक र सवारी धनीले दिउँसोमा ६ घन्टा बढी बन्दको मार खेप्नु परेको थियो । ‘निर्माण व्यवसायीले कामलाई सुस्तता गर्ने सर्वसाधारण नागरिकले दुःख पाउने भएको थियो,’ उनले भने, ‘रातिको समयमा मात्र काम गर्दा ठिक हुने भयो । जनताको विरोधलाई प्रशासनले सुनेको हो जस्तो लाग्यो ।’ आयोजना प्रमुख, साइट इन्जिनियर कोही पनि साइटका विषयमा जानकारी नराखेको गुनासोसमेत स्थानीयले गर्दै आएका थिए । रुपन्देहीमा राखिएको आयोजना कार्यालयबाट काम भएका बेलामा कोही पनि कर्मचारी अनुगमनमा नआउने स्थानीयले बताए ।

तिनाउ गाउँपालिका–३, दोभान बजार नजिकै रामापिथेकस पार्क नजिकबाट सडक डाइभर्सनको काम गत फागुन दोस्रो हप्तादेखि भइरहेको छ । तर निर्माण व्यवसायीले थोरै कामदार, हेभी इक्विपमेन्ट दुई वटा मात्र राखेर काम गरेको छ । जसका कारण सडकमा यात्रा गर्ने यात्रु, चालक, सवारी धनीले सास्ती खेप्दै आएका छन् । सडकदेखि माथिल्लो भागमा रहेका खुकुला ढुंगाहरु खस्दा दुर्घटनाको जोखिम हुने भएकाले राजमार्गको दोभानदेखि तल्लो सिद्धबाबासम्म सवारी साधन आवागमन बन्द गरेर काम गर्ने वतावरण बनाइएको हो ।

एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने अवरोध नगर्न निर्माण कम्पनीलाई आग्रह गरे पनि अटेर गर्दै आएको थियो । यसअघि पनि फागुन १३ देखि २७ गतेसम्म दैनिक आठ घन्टा सडक बन्द गरेर सुरुङमार्गको पूर्वतयारीका काम गरेका थिए । राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, रामापिथेकसपार्कदेखि पाल्पाको सिद्धबाबा मन्दिरसम्म १ हजार १२६ मिटर सुरुङ निर्माण हुनेछ ।

सुरुङमार्ग, रकनेट, रकसेड लगायत अहिलेको सडक स्तरोन्नतिका लागि सात अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सुरुङ मार्गको विस्तृत परियोजना प्रस्तावको अन्तिम डिजाइन स्वीकृत हुने क्रममा रहेको छ । चार वर्षमा काम सक्नेगरी ठेक्का सम्झौता भएकाले विस्तृत परियोजना प्रतिवेदन स्वीकृत हुनासाथ सुरुङ मार्ग निर्माणको कामले गति लिने निर्माण व्यवसायीले जनाएको छ ।

प्रकाशित : १७ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६