काठमाण्डाै, १७ वैशाख । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किनुभएको छ ।भारतको मुम्बईमा रहेकाे नेशनल बर्न अस्पतालमा उपचाररत उहाँ आज आइतवार बेलुकी स्वदेश फर्किनुभएको हो । त्यस क्रममा उहाँले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेता, सहकर्मीहरु आभार र धन्यवाद व्यक्त गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै नेता भण्डारीले आफू थप उपचारका लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताउनुभयो । उहाँले त्याे अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई अपिल गर्नुभयो । स्वास्थ्यमा सुधार हुँदै गएपछि भण्डारी स्वदेशमै बसेर उपचार गर्ने गरी स्वदेश फर्किनुभएको हो । उहाँ गएकाे फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते हुनुभएको थियो । त्यही घटनामा घाइतु हुनु भएकी नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो ।
प्रतिक्रिया