अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित



काठमाण्डौ, १८ वैशाख । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।

विश्वका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।

विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो । आज सार्वजनिक बिदा दिइएको छ । यसैबीच, नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरले न्यूनतम पारिश्रमिक पाउने अवस्थामा सुधार भएको भए पनि त्यो पर्याप्त नभएको जनाएको छ । श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थासम्बन्धी श्रम अडिट प्रतिवेदन २०७९ सार्वजनिक गर्दै जिफन्टले अझै १५ दशमलव ३० प्रतिशत मजदुरले न्यूनतम पारिश्रमिक नपाएका जनाएको छ ।

यस्तै, वार्षिक पारिश्रमिक वृद्धि ग्रेड वृद्धि गर्ने प्रतिष्ठान बढ्नुको साटो घट्दै गएको प्रतिवेदनले देखाएको छ । श्रमिकहरुले प्राप्त ज्यालाले जीवन धान्न नै मुस्किल पर्ने गरेको बताउँदै आएका छन् । सरकारले श्रमिकको हकहितका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको छ । तर, यो कार्यक्रममा अझै पनि धेरै श्रमिक समेटिन बाँकी छन् ।

यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो हकहित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको बताउनु भएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनु भएको हो ।

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६