कपिलवस्तु २० बैशाख ।मंगलबार बिहानै काठमाडौं प्रहरी परिसरबाट सादा पोसाकमा एउटा टोली तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईको निवासमा पुग्यो। प्रहरी पुग्दा राई ललितपुरको ठेचोँस्थित घरमै थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि उनलाई निगरानी गरिरहेको थियो। तर पक्राउ गर्ने अनुमति थिाहएन। अनुमति पाउनासाथ पक्राउ गर्ने गरी डीएसपीको टोली खटिएको थियो। प्रहरी घरमा पुगेर बोलाएपछि उनका छोरा बाहिर आए। तर उनलाई थाहा थिएन, ती प्रहरी हुन्। उनले प्रहरीलाई केरकार गर्न थाले।
तपाईं को हो?किन आउनु भएको?
प्रहरी अधिकृतले उनलाई एउटा नाम भनेर ठेगाना सामाखुसी बताइदिए। त्यसपछि इन्द्रजितका छोराले बाबुलाई बोलाए। इन्द्रजित बाहिर आए र भने, ‘तपाईंहरु मसँग पहिल्यै समय नलिई किन आएको? म यसरी मान्छे भेटेर कुरा गर्दिनँ।’त्यसपछि ती प्रहरीले परिचय पत्र देखाउँदै भने, ‘तपाईंलाई भुटानी शरणार्थी सम्बन्धी मुद्दा थाहै होला।’‘अँ म अपडेट छु,’ इन्द्रजितले जवाफ दिए।
‘सर हाम्रो कार्यालय जानु पर्यो, हामी लिन आएका हौं।’त्यसपछि इन्द्रजित राई कोठामा पसेर लुगा फेरेर बाहिर आए। परिसरको टोलीले उनलाई गाडीमा काठमाडौं परिसर ल्यायो। राईलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाइसकेको छ। बुधबारदेखि उनको बयान गराउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए। राईले प्रहरीसँगको प्रारम्भिक सोधपुछमा भने घटनाबारे आफू अपडेट रहेको बताएका छन्। आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको र अब पक्राउ पर्छु भन्न्ने लागेको उनले बताएका थिए।
२० बैशाख २०८०, बुधबार
प्रतिक्रिया