कपिलवस्तु २१ बैशाख। विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार विस्तारको तयारीमा जुटेका छन् ।विश्वासको मत पाए पनि कांग्रेस, माओवादी र साना दलको मन्त्रालय व्यवस्थापन प्रदेशस्तरबाट नहुने भएपछि चौधरी मंगलबार नै काठमाडौं पुगेका हुन् । त्यहाँ उनले सरकारमा सहभागी सबै दलका शीर्ष नेतालाई भेट्ने मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।
८७ सदस्यीय प्रदेशसभामा उनले मंगलबार ५३ सदस्यबाट विश्वासको मत पाएका थिए । कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३÷३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र १÷१ जनाले उनलाई मत दिएका छन् । विपक्षमा एमालेका २९ जना रहे भने ४ प्रदेशसभा सदस्य रहेको राप्रपा तटस्थ बस्यो ।लुम्बिनी प्रदेशका १० दलमध्ये ८ दल र स्वतन्त्रसमेतको मत पाएका चौधरी त्यही विश्वास टिकाइरहने चुनौतीमा छन् । कांग्रेस र माओवादीबाहेक साना ६ दलको पनि उनलाई समर्थन छ । जनमोर्चाबाहेक ५ दलले मन्त्री पदको बार्गेनिङसहित मत दिएका हुन् । विश्वासको मत लिनुअघि नै ४ सदस्य रहेको नागरिक उन्मुक्ति र ३ सदस्य रहेको लोसपा सरकारमा बिनाविभागीय मन्त्री लिएर सहभागी भएका छन् । सामाजिक विकास मन्त्रालय पाएको जनमतले अहिले पनि त्यही मन्त्रालयमा निरन्तरता खोजिरहेको छ । त्यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लिएको जसपा पनि पुरानो मन्त्रालय नछाड्ने अडानमा छ । ठूला दल कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति गरिसकेका छन् ।
२१ बैशाख २०८०, बिहिबार
प्रतिक्रिया