बुटवल २४ वैशाख। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले लैगिक समानताका लागि स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्ने बताएका छन् । स्रोत साधनमा महिलाको पहुँच भएमात्र महिलाको आर्थिक हैसियत बढ्ने र असमानता एवं हिंसाविरुद्ध लड्न सक्ने उनले बताए । रुपन्देहीमा आइतबार आयोजित लुम्बिनी प्रदेशस्तरीय महिला मन्च २०८० मा बोल्दै पूर्वमुख्यमन्त्री गिरीले प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोगमा पनि महिलाको भूमिका बढाउन सके दिगो विकास र न्यायमा टेवा पुग्ने उनले सुझाए ।
महिलावादी दृष्टिकोणबाट समाजको विश्लेषण र विकासमा सहजीकरण गर्न भन्दै महिला मानव अधिकार रक्षक सञ्जालसहितका महिलावादी संघसंस्थाले आइतबारदेखि रुपन्देहीमा महिला मञ्च कार्यक्रम आयोजना गरेका हुन् । न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता ः सामाजिक रुपान्तरणसहितको दिगो विकासमा निश्चितता भन्ने नारासहित महिला मञ्चको आयोजना गरिएको हो । नवनिर्वाचित जनप्रतिनिधि महिलाहरूलाई महिलावादी दृष्टिकोण र त्यसको महत्त्वबारे धारणागत स्पष्टता ल्याउँदै सहकार्यको वातावरण निर्माण गर्ने मञ्चको लक्ष्य छ । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका निर्वाचित जनप्रतिनिधि, मानवअधिकार संरक्षकसहित करिब ४ सय जना महिला सहभागी छन् ।
२४ बैशाख २०८०, आइतबार
प्रतिक्रिया