अर्थ-वाणिज्य

सुठौली भन्सारमा करोडौका सवारी साधन कवाड

लिलाम नहुँदा समस्या राजश्व असुली घट्दै




पशुपति गिरी
कपिलवस्तु २७ वैशाख । लिलाम नहुँदा कपिलवस्तुको सुठौली भन्सार कार्यालयमा करोडौका सवारी साधन कवाड बनेका छन् । विभिन्न क्षेत्रबाट प्रहरीले पक्राउ गरी भन्सार चलान गरेका सवारी साधनहरु लिलाम नहुँदा दिन प्रतिदिन कवाड बनेका हुन् । भन्सारमा हाल १ सय ६६ वटा मोटरसाईकल, २ वटा अटो, १ ट्याक्टर, २ वटा कार र २ वटा पिकअप जीप रहेको भन्सार अधिकृत चुरा बहादुर सर्तुङ्खीले बताए । उनले यसवर्ष लिलामीको प्रकृया अगाडी बढाउने समेत बताए । भन्सारमा २ वर्ष अघिदेखि यी साधनहरु थन्केको प्रशासन शाखा प्रमुख बाबुराम बस्यालले बताए ।
यसवर्ष सुठौली भन्सार कार्यालयको राजश्व असुली दर समेत घट्दै गएको छ । गएको आर्थिक वर्ष २०७८÷०७९ मा लक्ष्य भन्दा बढि राजश्व असुल गरेको कार्यालयले त्यसपछि भने लक्ष्य भन्दा कम राजश्व असुली भएको बताएको छ ।
सुठौली भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को चैत्र महिना सम्म लक्ष्य भन्दा आधा मात्र राजश्व असुल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को चैत्र मसान्त सम्म ८१.१७ प्रतिशत राजश्व असुली गरेको थियो भने यस वर्ष २०७९÷०८० को सोही अवधिमा ४८.०१ प्रतिशत मात्र राजश्व असुली गरेको छ । चैत्र महिनामा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा दुई अर्ब ७ करोड ९७ लाख ५८ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखेको भएपनि ६७ करोड ६८ लाख ९२ हजार रुपैयाँ मात्रै असुल गरेको छ ।सोही अवधिमा आर्थिक वर्ष २०७८÷७९ मा १ अर्ब ४५ करोड ७३ लाख ४२ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखिएकोमा १ अर्ब १८ करोड २८ लाख रुपैयाँ असुल गरेको थियो ।गएको आर्थिक वर्षमा लक्ष्य भन्दा असुली बढि भएपछि भन्सार विभागले सुठौली भन्सार कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्य बृद्धि गरी आर्थिक वर्षमा २०७९÷८० मा सो रकम निर्धारण गरेको थियो ।
सुठौली भन्सार कार्यालयका अधिकृत सर्तुङ्खी आयात घटेको कारणले गर्दा राजश्व असुलीमा संकुचन आएको बताए । उनले गाडी, मोटरसाइकल जस्ता विलासितामा सामानहरु र महंगा सामानहरु यस नाकाबाट आयातमा रोक लगाइएकोले अनिवार्य सामानहरु मात्रै आयात भइरहेको बताए । बैंकहरुले व्यापारीलाई ऋण लगानी नगरेको कारणले पनि सामान आयात घटेको खड्काले बताए । उनले बढेको महंगी, डलरको भाउ बृद्धि, उपभोक्ताको क्रय शक्तिमा क्षयिकरण, बैंकहरुको ऋण लगानी कटौती, तरलता अभाव लगायतको कारणले आयात घट्न गई भन्सार राजश्व असुली पनि संकुचित हुँदै गएको बताए । उनले फलफुल, कोईला, खरानी, खाद्यान्न, तरकारी र केही अन्य सामानहरु मात्रै आयात भइरहेको बताए ।
भन्सारमा चालु आर्थिक बर्षको कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको छैन । चालु आर्थिक वर्षको साउनमा १४ करोड ७३ लाख लक्ष्य रहेपनि ४४ दशमल ५३ प्रतिशत अर्थात ६ करोड ५६ लाख मात्र राजस्व संकलन भएको थियो । भदौमा १७ करोड ४२ लाखको लक्ष्य रहेकोमा ३७ दशमलव ३३ प्रतिशत ६ करोड ५० मात्र राजश्व उठेको छ । असोजमा १७ करोड ५३ लाखको लक्ष्यमा २७ दशमलव ६१ अर्थात ४ करोड ८४ लाख उठेको छ ।कार्तिकमा १६ करोड ६४ लाखको लक्ष्यमा ५५ दशमलव १९ प्रतिशत ९ करोड १८ लाख संकलन भएको छ । मंसिरमा १८ करोड ३७ लाखको लक्ष्य मध्ये ५१ दशमलव ३७ प्रतिशत ९ करोड ४३ लाख संकलन भएको छ । पुसमा १९ करोड १४ लाखको लक्ष्यमा ५६ दशमलव ६९ प्रतिशत १० करोड ८५ लाख उठेको छ । आयत, मुल्य अभिबृद्धि कर, अन्तशुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको हो ।
आर्थिक बर्ष २०७८÷०७९ मा लक्ष्यको ७१ दशमलव १३ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । सो बर्ष भन्सारमा १ अर्व ३८ करोड ८४ लाख १० हजार राजश्व संकलन भएको थियो । सो बर्ष भन्सारलाई १ अर्व ९५ करोड १९ लाख ४४ हजारको लक्ष्य दिइएको थियो । आर्थिक बर्ष २०७७÷०७८ मा लक्ष्यकोे १ सय ९३ प्रतिशत राजश्व उठेको थियो । अनलाइन सिस्टम र भारतीय जिएसटी लगायतका कारणले पनि राजश्व संकलनमा असर परेको हो ।ः

प्रकाशित : २७ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६