गुल्मी, ०६ जेठ ।
गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो तम्घासको खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो । हिजोनै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि साँझ फेरि फैलिएको हो ।
खानीगाउँ क्षेत्र र गर्जुरा क्षेत्रको सडकभन्दा बिचमा आगो लागेकाले दमकललाई पनि आगो नियन्त्रण गर्न अप्ठ्यारो भइरहेको छ । बिहानैबाट रेसुंगा नगरपालिकाको दमकल र आगो नियन्त्रण टोली रेसुंगा पुगेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण बाहिर रहेको छ । बिहानमा नियन्त्रण गर्न सजिलो हुने भएकाले टोलीलाई बिहानै पठाइएको गैरैले बताए । यद्यपि आगो नियन्त्रणमा आउन सकेको छैन् ।
तीन हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग लगभग प्रत्येक वर्ष डढेलोको चपेटामा ध्वस्त भएको हुने गरेको छ । आगोले प्रत्येक वर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् ।
प्रतिक्रिया