जेठ १४, काठमाण्डौ -नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिका थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा हिजो अनुगमन गरी जानकारी लिनुभयो ।गएको फागुन अन्तिम हप्ता पनि अनुगमन गरेका उहाँले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि असन्तुष्टि जनाउनुभएको छ । त्यतिबेला ठेकेदार कम्पनीहरुले आउँदो असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएपछि घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिनुभएको छ ।
उहाँले सबस्टेसन निर्माणस्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरु सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरुलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिबाना तिराउने चेतावनी दिनुभयो । भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आज काठमाण्डौ आएर संयुक्त बैठक गर्न निर्देशन दिनुभयो ।
चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडेर बाँकी रहेको काम गर्न टेण्डरमार्फत् सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५मा ठेक्का सम्झौता भएको थियो । यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेस निर्माण पनि राखिएको छ । कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सबस्टेसनको निर्माण आउँदो असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।








प्रतिक्रिया