देश

नेपाली भू–भाग समेटिएकाे नक्सा सच्याउनुस् भनेर भारतसँग प्रधानमन्त्रीले कुरा गर्नुपर्छ : ओली



काठमाण्डाै, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद् भवनमा राखिएकाे ‘अखण्ड भारत’ काे नक्सामा नेपालको भूमि समावेश गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कुरा गर्नुपर्ने बताउनुभएकाे छ । भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्दै उहाँले त्याे उचित नभएकाे प्रतिक्रिया दिनुभयाे । 

अखिल नेपाल महिला सङ्घले मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमुना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा त्याे नक्सा संसद् भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताउनुभयो ।

भारतसँग त्याे गल्ती सच्याउनेबारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतकाे संसद् भवनमा राखिएकाे नक्सामा नेपालकाे लुम्बिनी र कपिलवस्तु पनि रहेकाे कुरा आइरहेकाे छ । नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसद्जस्तो ठाउँमा राख्ने काम भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले गर्छ भने त्यो व्यवहारलाई उचित भन्न सकिँदैन । प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यति कुरा गर्न सक्नु हुन्न भने भारत भ्रमणमा किन जाने ?’

अध्यक्ष ओलीले शक्तिराष्ट्रहरूले बलमिच्याइँ गरिरहेकाले कमजोर देशहरूले न्यायको खोजी गरिरहनुपरेको पनि बताउनुभयाे ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६