कपिलवस्तु १८ जेठ । कपिलवस्तु नगरपालिका–१२, बिठूवाका चैतु यादव ज्वरोले थलिएर उपचारका लागि सदरमुकाम तौलिहवामा रहेको जिल्ला अस्पतालमा आए । चिकित्सकले सिटामोलसहित एन्टिबायोटिक एमोक्सोसिलिन औषधि लेखिदिए । तर, उनले अस्पताल डिस्पेन्सरीमा कुनै औषधि पाउन सकेनन् ।उनीजस्तै पखाला लागेर कपिलवस्तु नगरपालिका मलापाराकी अमिरुन निशा उपचारका लागि अस्पताल पुगिन् । उनले पनि जीवनजल पाउन सकिनन् ।
सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने योजना अघि सारे पनि यहाँको अस्पतालमा आधारभूत औषधिकै अभाव भएको छ । ३ महिनादेखि सिटामोल अभाव हुँदा बिरामीले पाउन सकेका छैनन् ।प्रदेशअन्तर्गत रहेको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र बुटवलबाट औषधि नआउँदा उपचारका लागि आउने बिरामी रित्तो हात फर्किन बाध्य छन् । कहिलेकाहीँ जिल्ला स्वास्थ्य कार्यालयले वितरण गर्दै आएको औषधि पनि दिन छाडेकाले अस्पतालमा औषधि अभाव बढेको छ ।०७८ फागुन २ गते प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट १८ हजार ट्याबलेट सिटामोल आएको थियो ।औषधि सकिएको जानकारी दिएर पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र बुटवल र प्रदेश मन्त्रालयले चासो नदिएको अस्पताल व्यवस्थापक रत्नाकर शुक्लाले बताए ।
एकै पटक रोकिँदा अहिले निक्कै समस्या भइरहेको छ । गरिब विपन्न उपचारबाटै वञ्चित हुनुपर्ने अवस्थामा पुगेको छ‚’ उनले भने ।यसरी अस्पतालमा अत्यावश्यक औषधिको पनि अभाव हुँदा जनआक्रोश बढ्दै गएर आन्दोलनको स्वरुप लिन थालेको नागरिक अगुवा गोपीकृष्ण शर्माले बताए । ’ संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रुपमा स्थापित गरेको छ । तर, व्यवहारमा नहुँदा गरिब विपन्नले सास्ती झेल्नुपरेको छ । यसले बिरामी मारमा परेका छन् ।जीवनयापन कष्टकर बनेको छ ।प्रदेश र स्थानीय तहले औषधि नदिँदा गरिब तथा विपन्नलाई समस्या थपिएको छ ।
प्रतिक्रिया