देश

गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने र बत्ती कात्ने तालिम



चितवन, २२ जेठ । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् ।
बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ । झण्डै एक साता लामो विद्यालय बन्दका क्रममा विद्यार्थीहरू पौडी खेल्न खोलामा जाने, झनै घाममा हिँडडुल गर्न सक्ने भएकाले उनीहरूलाई सिप सिकाउने उद्देश्यले ग्लोसाइन एकेडेमीले दुनाटपरी बनाउने र बत्ती कत्ने तालिम दिएको हो ।

‘विद्यार्थीहरु घरभित्रै व्यस्त हुने, सिप पनि सिक्ने र हाम्रो संस्कृति र परम्पराको जर्गेनासमेत हुने ठानेर तालिम आयोजना गरिएको हो,’ विद्यालयका प्राचार्य टेकराज अधिकारीले भने ।

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु यो तालिममा सहभागी छन् । तालिम अभिभावकहरू ९आमाहरू० ले दिएका छन् । ‘विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ, अनुभवी हाम्रै आमाहरुले आएर तालिम दिनुभएको छ, विद्यार्थीहरु निकै उत्साहित छन्,’ विद्यालयका प्राचार्य अधिकारीले भने, ‘हरेक घरमा हुने पूजाआजा लगायतका धार्मिक काममा दुनाटपरीको खाँचो पर्छ, अहिलेको नयाँ पुस्तालाई हामीले यो ज्ञान नसिकाए हराउँदै जाने खतरा पनि देखियो ।’ दुनाटपरी बनाउने र कपासका बत्ती कात्ने तालिममा छात्रहरूभन्दा बढी छात्राहरू उत्सुक देखिएको प्राचार्य अधिकारीको भनाइ छ ।

तालिममा ९६ जना छात्रा र १४ जना छात्र सहभागी छन् । ‘सालको पात टपरी हुने भन्ने गीत मात्रै सुनेका अहिलेका बालबालिकाहरुले सालको पातबाट कसरी टपरी बनाउन सकिन्छ भनेर आफ्नै आँखा अगाडि देख्न र सिक्न पाए,’ विद्यालयका प्राचार्य अधिकारीले भने, ‘साना साना बालबालिकालाई सिकाउन पाउँदा अभिभावकहरू पनि खुसी हुनुभएको छ, सिप जीविकोपार्जनका लागि टेवा दिने खालको पनि छ ।’

उनले तालिमबाट उत्कृष्ट तीन विद्यार्थीलाई छनौट गरेर पुरस्कृत गरिने बताए । बजारबाट सालको पात र सिन्का किनेर ल्याएर घरमा आफैंले दुना टपरी बनाउन सक्ने गरी विद्यार्थीलाई सिकाइने उनको भनाइ छ ।

विद्यालयले दुना, टपरी बनाउने र बत्ती कात्ने तालिमलाई विद्यालयको शैक्षिक क्यालेण्डरभित्रै समावेश गरेको छ । आउने दिनमा सेलरोटी पकाउने र च्याउ खेती गर्ने तालिम दिने योजनासमेत रहेको विद्यालयका प्राचार्य अधिकारीले जानकारी दिए ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६