दाङ २७ जेठ । देउखुरीको लमही नगरपालिका–९ अमिलियाबाट बाघको छाला र हड्डीसहित दुईजना पक्राउ परेका छन्। प्रहरीले राजपुर गाउँपालिका–७ बस्ने ३१ वर्षीय वीरबहादुर पुन र रोल्पा माडी गाउँपालिका–३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगरलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा २० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको हो ।
यता पाल्पामा प्रहरीले अवैध मलसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको रम्भा गाउँपालिका –१ हुँगीमा अवैधानिक युरिया मलसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको बिल भरर्पाइ र पास नभएको ३७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सो ट्रकमा १६ हजार ७४० केजी युरिया मल रहेको छ । शनिबार बिहान नवलपरासीबाट पाल्पा आउँदै गरेको ट्रकमा हुँगी प्रहरी खानतलासीको क्रममा लु. २ ख. ३८१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा सो ट्रकमा अवैध मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । युरिया मल, ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।
२८ जेष्ठ २०८०, आइतबार
प्रतिक्रिया