कपिलवस्तु ३२ जेठ । मनसुन वर्षा गराउने मौसमी प्रणाली प्रवेश गरेयता देशमा मौसम बदली बादल लाग्ने र वर्षा हुने क्रम बढेको छ। मनसुन प्रवेश गरेको पहिलो दिन बुधबार नै देशका विभिन्न स्थानमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहीबार बिहान पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। यस्तै दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र देशका बाँकी पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेशसहित देशका बाँकी पहाडी भेगका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। देशभरका पहाडी भेगसँगै कोशी प्रदेशको तराई र मधेश प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वर्षा सुरु भइसक्दा मध्य तथा पश्चिम तराईमा भने गर्मी यथावत् छ।
प्रतिक्रिया