काठमाडौं ६ असार । बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो ।श्रम तथा रोजगार मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकार गरेसँगै अब नेपाली कामदार बेलायत जानेछन् । गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकारसरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता गरेको थियो ।
बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने सम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर गरेका थिए । श्रम सम्झौता अनुसार अब नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने छ । पहिलो चरणमा कम्तीमा एक हजार नर्स जानेछन् ।
यस्तो छ बेलायत जान प्रक्रिया
रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त छन् । साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।
के छ सेवा सुविधा
श्रम मन्त्रालयका अनुसार बेलायती नागरिकले पाउने सेवा सुविधा र विदेशी नागरिकले पाउने सेवा सुविधा एकै खालको छ । आईएलटीएस जस्ता भाषा सिक्न र बेलायत जान लाग्ने प्लेन टिकटसमेत बेलायत सरकारले बेहोर्ने छ ।यहाँबाट गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउण्ड स्ट्रर्लिङसम्म कमाउन सक्नेछन् । अहिलेको सतहीदरअनुसार वार्षिक रुपमा ६० लाख १२ हजार रुपैयाँ हुनेछ ।
प्रतिक्रिया