अन्तर्राष्ट्रिय

नाटकीय रूपमा पछि हट्यो वाग्नर समूह, रुसको सम्भावित संकट टर्‍यो




काठमाडौं १० असार, । रुसको निजी सैन्य समूह वागनर नाटकीय रुपमा पछि हटेको छ । विद्रोहको धम्की दिएको २४ घण्टामै वागनर समूह पछि हट्न सुरु गरेको हो ।यससँगै रुसमा नाटकीय र तनावपूर्ण दिन अन्त्य भएको बीबीसीले जनाएको छ ।
वागनर भाडाका सैनिकहरुको समूह हो । यो समूहका लडाकुहरु पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ । युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको वागनर समूहको गुनासो छ । साथै मिसाइल आक्रमण पनि आफ्नै भूमिमा गराएको भन्दै वागनर समूह असन्तुष्ट छ ।
यिनै असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को प्रवेश गर्ने भनेर धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो ।
वागनर समूहले क्षेत्रीय सैन्य कमाण्ड र मस्को जाने बाटोमा पर्ने वोरोनेज शहरमा रहेको सैन्य इलाका कब्जा गरिसकेको थियो । राजधानी मस्कोतर्फ मार्चसमेत सुरु गरेपछि मस्कोमा उच्च सतर्कता अपनाइएको थियो भने ठूला सार्वजनिक समारोहहरु सबै स्थगित गरिएको थियो ।
वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले रक्तपात रोक्नका लागि आफ्ना लडाकुलाई युक्रेन नै फर्किन भनिएको जानकारी दिएको बीबीसीले जनाएको छ । रुसको सरकारी मिडिया रिपोर्टका अनुसार प्रिगोजिन अब बेलारुस जाने छन् । साथै उनी र वागनर समूहका लडाकुहरुविरुद्ध लगाइएका आरोपहरु पनि सरकारले फिर्ता लिने छ ।
वागनर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजायँ भोग्नुपर्ने चेतावनी दिएका थिए ।
वागनर समूहको नेतृत्व गरेका येवगेनी प्रिगोजिन पुटिनका निकट र विश्वासपात्र व्यक्ति मानिन्थे । त्यसैले निजी लडाकु समूह वागनरको नेतृत्व पनि पुटिनले प्रिगोजिनलाई दिएका थिए । तर युक्रेनविरुद्ध लडाइँ सुरु भएपछि प्रिगोजिनले पुटिनको खुलेर आलोचना गर्दै आएका थिए ।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६