अन्तर्राष्ट्रिय

ज्यानकै जोखीम मोलेर सयौँ नेपाली युवा रुसी सेनामा भर्ना




कपिलवस्तु १० असार ।रुसले आक्रमण गरेको करिब एक महिनापछि एक नेपाली युवा प्रताप बस्नेत युक्रेनका तर्फबाट युद्ध लडिरहेको समाचार सार्वजनिक भएको थियो। त्यो समाचारले नेपालमा मात्र होइन विश्वभरको ध्यान खिचेको थियो।त्यसको झन्डै डेढ वर्षपछि केही नेपाली युवा रुसको तर्फबाट युक्रेनविरुद्ध आक्रमणमा उत्रिरहेका खबर आएका छन्। नेपाली युवाले रुसी सेनामा भर्ना भएको भिडिओ सार्वजनिक भएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपाली युवाको फोटोसहित समाचार आइरहेका छन्। नेपाली युवा रुसी सेनामा भर्ना भएका प्रमाण पनि सार्वजनिक भएका छन्।रुसको तर्फबाट भाडामा वा नियमित सेनामा गएका नेपालीको यकिन संख्या भने थाहा भएको छैन। तनहुँका नरेन्द्र श्रेष्ठका अनुसार सयौँजना छन्। युक्रेनको युद्ध क्षेत्रमा रुसको तर्फबाट आफूहरु ठुलो संख्यामा सक्रिय रहेको त्यहाँ रहेका नेपाली बताउँछन् ।
उनीहरू भन्छन्, “हामी निजी करारमा भर्ना भएका हौँ। रुसी रक्षा मन्त्रालयले उपलब्ध गराएको सेवा सुविधा लिएर फिल्डमा खटिएका छौँ। थप सुविधा पछि बढ्नेछ।’’ सेनामा भर्ना हुनुअघि आफ्नो टिमका सबै विद्यार्थी रहेको एक नेपालीले बताए।सैनिकमा भर्ना भएकालाई एकवर्ष भित्र रुसी नागरिकता दिने आश्वासन दिइएको छ। साथै परिवारका सदस्यलाई पनि यस व्यवस्थाबाट लाभान्वित हुने बताइएको छ।रुसको प्राथमिकता पूर्व सैनिक रहने गरेका छन्। नेपाली सेनाका केही पूर्वजवान समेत रुसका सैन्य शिविरमा छन्। कतार र दुबईमा सेक्युरिटी गार्डका रूपमा काम गरिरहेका नेपाली पनि रुसको आकर्षक अफरपछि सेनामा भर्ना भएको श्रेष्ठले बताए।उनले भने, ‘‘रुसी सेनामा भर्ना हुने मापदण्ड सरल बनाइएको छ। यसैले नेपालीलाई कुनै समस्या देखिएको छैन। विभिन्न देशमा सुरक्षा गार्ड गरेका नेपाली युवा पनि आएका छन्।’’
तालिमको समयमा ६० हजारमाथी कमाउने नेपालीले तालिमपछि फिल्डमा खटिँदा २ लाख रुपैयाँसम्म पाउने बताउँछन्। विद्यार्थीहरू रहरले भन्दा बाध्यताले सेनामा भर्ना भएका हुन्।उनीहरू भन्छन्, ‘‘हामी विद्यार्थी भिषामा आएका हौँ। पैसा थिएन। बाध्यताले सेनामा लाग्यौँ।’’रुसी सेनामा भाडाका सैनिकको रूपमा नेपाली नागरिक भर्ना हुने क्रम बढ्नु चिन्ताको विषय भएको जानकारको प्रतिक्रिया छ। उनीहरूले बेलायती र भारतीय सेनाबाहेक विदेशी मुलुकको सशस्त्र सेनामा भर्ना हुने अभ्यास नरहेको बताउँछन्।यसअघि फ्रान्सको सेनामा समेत नेपाली युवा सामेल भएको बताइँदै आएको छ। अरू राष्ट्रमा सैनिकको रूपमा भर्ती हुने कुरा नेपाली नागरिक असंलग्नता र ‘पञ्चशील’का पाँच सिद्धान्तमा आधारित नेपालको परराष्ट्र नीतिसँग मेल नखाने जानकार बताउँछन्।यस्ता गतिविधिले मित्र राष्ट्रसँगको द्विपक्षीय सम्बन्धमा गम्भीर असर पार्न सक्ने छ ।
राजदूत र पूर्व राजदूतको प्रतिक्रिया

सयौँ नेपाली युवा रुसी सेनामा रहेको भिडिओ एक विदेशी मिडियाले ट्वीटरमा हालेको छ । त्यसमा चीनको लागि नेपालका पूर्वराजदूत लिलामणी पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले समेत प्रतिक्रिया दिएका छन्।पौडेलले देशको अवस्थाको कारण युवाहरू यस्तो अवस्थामा पुगेको बताएका छन् । उनले लेखेका छन्, ‘‘एउटा देशले युवालाई देशभित्र काम गर्न प्रेरित गर्न नसकेपछि कसरी यो रोग प्रकट नहोस्।’’पौडेलको प्रतिक्रियामा अर्को प्रतिक्रिया दिँदै चिनियाँ राजदूत छन् सोङले लेखेका छन् ‘‘हामी नेपालमा गुणस्तरीय रोजगारी सिर्जना गर्न चाहन्छौँ।’’नेपाललाई दिएको ऋणमा समेत चर्को ब्याजदर असुलेको भन्दै चीनको आलोचना भइरहँदा रोजगारी सिर्जना गर्ने राजदूतको ट्वीट भने हाँसउठ्दो छ ।उनले के कसरी गुणस्तरीय रोजगारी सिर्जना गर्न चाहेका हुन् त्यो भने खुलाएका छैनन् ।
नेपालले माग्यो दूतावाससँग जवाफ

यसैबीच, यस विषयमा परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र प्रवक्ता सेवा लम्सालले प्रतिक्रिया दिन मानेनन्। मस्कोस्थित नेपाली दूतावासले पनि यसबारे केही उल्लेख गरेको छैन।परराष्ट्र मन्त्रालयले रुसको युद्धमा रहेका नेपाली नागरिकको अवस्थाबारे जानकारी संकलन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको परराष्ट्र स्रोतले जनाएको छ। तर, यो समाचार तयार पार्दासम्म मन्त्रालयले दूतावासबाट कुनै अपडेट प्राप्त गरेको छैन।
सरकारको ध्यानाकर्षण
रुसी सेनामा नेपाली युवा भर्ती हुने गरेको चर्चापछि प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले भने यसबारे सरकारको ध्यान गएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसद्हरुले रुसी सेनामा नेपाली युवा सामेल भएको विषयमा प्रश्न गरेका थिए। जवाफ दिँदै प्रचण्डले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताए।‘‘अन्तर्राष्ट्रिय स्तरका घटनाप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, ‘‘रूसमा नेपाली युवाको सैनिक भर्ती र घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको छ।’’नेपालको इतिहास अनुसार धेरै वर्ष पहिले देखि नेपालीहरू विदेशी सैनिक सेवामा भर्ती हुन थालेका हुन्। पहिले नेपाली सेनालाई बेलायती सेना र भारतीय सेनामा भर्ती हुन पठाइएको थियो। सन् १८१५ देखि नेपाली सेनालाई ‘ब्रिटिस गोर्खा’ नामले बेलायती सेनामा भर्ती गर्न थालिएको हो।
भारत स्वतन्त्र भएपछि भारतमा ‘इन्डियन गोर्खा’ नाममा भर्ती हुन थाल्यो। यति मात्र होइन, सन् १९४९ देखि सिंगापुर प्रहरीमा पनि नेपालबाट युवाको भर्ती हुँदै आएको छ।संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा धेरै सैनिक पठाउने नेपाल विश्वको दोस्रो राष्ट्र हो। यद्यपि नेपालका सैनिक संयुक्त राष्ट्रको मिसन बाहेक अन्त जाँदैनन्।बेरोजगारी, कम तलब, नेपाली सेनामा जागिरको अभाव जस्ता समस्याका कारण धेरै युवा अहिले ज्यानै जोखिममा पारेर युद्धग्रस्त देशमा काम गर्न बाध्य छन्।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६