‘दाङ १ साउन । यौन काण्डमा बदनामी कमाएका कृष्णबहादुर महरा फेरी सुनकाण्डमा फसेका छन् । ‘सुन तस्करसँग पूर्वसभामुख महरा बाउछोराको कनेक्सन’ शीर्षकको एक अनलाइनले समाचार प्रकाशन भएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले समाचार तथ्यहीन र दुराशयपूर्ण रहेको भन्दै खण्डनसहितको विज्ञप्ति प्रकाशन गरेका थिए । तर पूर्वसभामुख समेत रहिसकेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकबीच सुन तस्करी भई विमानस्थलमा आइपुगेको मितिदेखि छानबिन सुरु भएको मितिसम्म २२ पटक कुराकानी भएको पाइएको छ ।
स्रोतबाट प्राप्त कल डिटेल्स रिपोर्ट (सीडीआर)का अनुसार विमानस्थलमा चिनियाँ नागरिक ली हानसोङले सुन तस्करी गरेको मिति २०७९ पुष १० गतेदेखि विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिन थालेको चैत महिनाको अन्तिमसम्ममा महराले दुई जना चिनियाँ सुन तस्करसँग २२ पटक कुराकानी गरेको पाइएको हो । प्रहरीले सुन तस्करीमा संलग्न भनी किटान गरेका चिनियाँ नागरिक लुईसँग महराले ११ पटक कुराकानी गरेको पाइएको छ । त्यसैगरी अर्का तस्कर दाओजिन वाङसँग पनि महराले ११ पटक नै कुराकानी गरेको पाइएको छ ।
यता प्रहरीले सुन तस्करीमा संलग्न भनी खुलाएका व्यक्ति वाङ र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराबीच सुन तस्करी भई आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन सुरु गर्नेसम्मको समयमा १९५ पटक कुराकानी भएको पाइएको वताएकोछ । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गरेका छन् भने राहुलले वाङलाई १३१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ । सुन तस्करीमा संलग्न भनिएका वाङले अर्का तस्कर लुईसँग १३ पटक मोबाइलमा कुराकानी गरेका छन् ।
त्यसैगरी वाङ र उनका चालक लोकेन्द्र पौडेलबीच ६५१ पटक कुराकानी भएको पाइएको छ ।त्यस्तै वाङले राजस्व तिरेर वा लिलामी मिलाएर छुटाउने भन्दै सम्पर्कमा गएका श्याम साहलाई ५२ पटक टेलिफोन गरेका छन् भने साहले वाङलाई २०१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ । वाङले भन्सार एजेन्ट भनिएका खुवाप्रसाद न्यौपानेलाई ५४ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ ।
प्रतिक्रिया