प्रदेश

राप्ती अस्पतालः १२ वटा मेसिनबाट डायलासिस सेवा



दाङ, ०२ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले १२ वटा डाइलासिस मेसिनबाट बिरामीहरूलाई सेवा दिन शुरु गरेको छ।

गत वर्ष साउनमा आएका ८ वटा डाइलासिस मेसिन भर्खरै मात्र जडान गरेपछि १२ वटा मेसिनबाट सेवा दिन शुरु गरेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार यसअघि ४ वटा मेसिनबाट मात्र बिरामीहरूलाई सेवा गरिरहेको थियो। शुरुमा ५ वटा मेसिन आएको भए तापनि एउटा बिग्रिएपछि ४ वटाले बिरामीहरूलाई डाइलासिस गर्दै आएको अस्पतालले जनाएको छ।

गत वर्ष अस्पतालमा स्वास्थ्य मन्त्रालयले ८ वटा मेसिन पठाएको थियो तर राख्ने ठाउँ अभाव, दरबन्दी तथा आर्थिक अभावका कारण ती मेसिन जडान भएका थिएनन्।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले अस्पताललाई डाइलासिस मेसिन जडानको लागि २५ लाख रुपैयाँ तथा १० जना स्टाफ नर्स र २ जना कार्यालय सहयोगीको ब्यवस्था गरिदिएपछि मेसिन जडान भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालले बताए।

अस्पतालमा आएका ८ वटा डाइलासिस मेसिनमध्ये गत मङ्सिरमा ३ वटा मेसिन नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर बाँकेलाई केही समयको लागि दिइएको थियो। बाँकेमा पठाइएका मेसिनहरू केही दिनअगाडि ल्याएर जडान भएको उनले बताए।

उनका अनुसार अस्पतालले शुरुमा डाइलासिस सेवा ५ बेडबाट शुरु गरेको थियो। जसबाट २२ जना बिरामीहरूले सेवा पाइरहेका थिए। जसमा एउटा मेसिन बिग्रिएपछि अहिलेसम्म प्रयोगमा आएको छैन।

अहिले १२ वटा मेसिनहरूबाट सेवा दिन सकिने भए तापनि जनशक्तिको कारणले फुल फेजमा सञ्चालन गर्न समस्या हुने उनले बताए।

उनले भने, ‘पहिला २२ जना बिरामीले सेवा पाइरहेका थिए। अहिले थप ८ वटा नयाँ मेसिन जडान भएपछि २० जनाले सेवा पाएका छन्। जसले गर्दा अब ४२ जनाले अस्पतालबाट डाइलासिस सेवा पाउनेछन्।’

अस्पतालमा डाइलासिस मेसिनहरू थपिएपछि बिरामीहरूलाई डायलासिस लिन सहज भएको छ। अस्पतालमा यसअघि ४ वटा मात्र डाइलासिस मेसिन हुँदा बिरामीहरू घोराही, लमहीलगायत बाहिर जिल्ला जानु पर्ने बाध्यता भए पनि अहिले जडान भएका ८ वटा मेसिनले केही राहत हुने समेत मेसु डा। अर्यालले बताए।

उनले भने, ‘गत वर्ष डाइलासिस मेसिनहरू आएका थिए तर जडान गर्न ठाउँको अभाव थियो। त्यसपछि ती मेसिनहरू जडान गर्न २५र३० लाख लाग्ने भएकाले आर्थिक समस्या पनि थियो। जडान भए पनि जनशक्तिको कमी थियो। स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयबाट बजेटको सुनिश्चिता र दरबन्दीको व्यवस्थापछि नयाँ मेसिन जडान भएका हुन्।’ यसअघि डाइलासिस सेवामा ४ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी रहेका थिए।

डाइलासिस गर्न पाउँदा बिरामीलाई सहज

सल्यान दार्मा गाउँपालिका ३ का धनबहादुर सार्कीले शुरुमा लमहीमा डाइलासिस गर्दै आएका थिए। त्यहाँबाट उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आउन थाले।

अहिले उनले विगत १ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट डाइलासिस गराउँदै आएका छन्। उनले प्रादेशिक अस्पतालमा डाइलासिस गर्न ११ महिनाअगाडि नाम टिपाएका थिए। अस्पतालले डाइलासिस गर्न बोलाएपछि आफूले यहाँ धेरै सहज भएको उनले बताए।

उनले भने, ‘मेरो घर सल्यान हो। जसले गर्दा मलाई आउन जान पनि समस्या हुन्छ। पहिला लमही, घोराही जाँदा धेरै समस्या हुन्थ्यो। अहिले तुलसीपुरमा गर्न पाएपछि धेरै सहज भएको छ तर डाक्टरहरूले एक पटक डाइलासिस गरेका बिरामीहरूलाई आएर प्रत्यक्ष चेकचाँज गर्दा अझै राम्रो हुन्थ्यो कि ?’

प्रकाशित : २ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६