पाल्पा १३ साउन । जबर्जस्ती करणी गरेको भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटक–पटक जबर्जस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–९ बस्ने २४ वर्षका आशिष सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रुपन्देहीकै २५ वर्षीया महिलालाई गत साउन ५ गते तानसेनस्थित एक होटलमा ल्याएर ती पुरुषले जबर्जस्ती करणी गरेको र अश्लिल भिडियोसमेत बनाएको पीडित युवतीले बताएकी छिन् ।
उक्त भिडियो सार्वजनिक गर्ने र सामाजिक भाइरल बनाउने डरधम्की दिएर पुनः साउन ९ गते बिहान करणी गरेको पीडित युवतीको भनाई छ । सोही दिन रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–११, माझगाउँको एक होटलमा ती पुरुषले आफूलाई जबर्जस्ती गरेको पीडित युवतीको भनाई छ ।युवकले आफूलाई पटक–पटक धम्की दिएर करणी गरेपछि प्रहरीमा उजुरी दिएर र सोही उजुरीका आधारमा ती युवकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो ।
१३ श्रावण २०८०, शनिबार
प्रतिक्रिया