खोज–अनुसन्धान

अपमान जनक रुपमा २० बर्षदेखि कार्यरत स्वयम सेविकालाई वडाध्यक्षले निकाले




रुपन्देही १७ साउन । बुटवल महानगरपालिकामा वडाध्यक्षले व्यक्तिगत रिसइबी फेर्न २० वर्षदेखि स्वास्थ्य सेवामा काम गरेकी महिलालाई जागिरबाटै निकालेका छन् ।बुटवल उपमहानगरपालिका( १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले वडास्थित शहरी स्वास्थ्य केन्द्रकी महिला स्वास्थ्य स्वयंसेविका सीता नापितलाई जागिरबाट निकालेका हुन् ।नापितले व्यक्तिगत दुश्मनी साँध्न र आफूले विभिन्न समयमा उठाउने गरेका विषयबारे रिसिइवी साँध्न वडाध्यक्षले आफूलाई हटाएको आरोप लगाएकी छन् ।वडाअध्यक्ष बस्नेतले राजनीतिक आग्रह पूर्वाग्रह राखेर आफूलाई हटाएको उनको आरोप छ । वडाअध्यक्ष बस्नेत कांग्रेसको बागी उठेर चुनावमा विजयी भएका थिए ।
स्वयंसेविका नापितले बुटवल उपमहानगरपालिकाले पूर्ण खोप घोषणाका लागि आयोजना गरेको कार्यक्रमममा आफ्नो वडामा सबैले पूर्ण खोप नपाएको अवस्थामा कसरी पूर्ण खोप घोषणा हुन्छ भन्दै प्रश्न उठाएकी थिइन् । उनले पूर्ण खोप घोषणामा हतार गर्न नहुनेसमेत बताएकी थिइन् । यसपछि वडाअध्यक्ष बस्नेत आफूसँग चिढिएको उनले जिकिर गरिन् ।नापितले आफू विनागल्ती निष्कासनमा परेको भन्दै न्यायका लागि अपिल गरेकी छन् । ‘२० वर्षभन्दा लामो सेवा स्वयंसेविकाको रुपमा बिताउँदा मैले स्वास्थ्य क्षेत्रमा गरेको योगदानको अवमूल्यन भएको छ, आफूले गरेको सेवाको अवमूल्यन गरी पूर्वाग्रहपूर्ण तरिकाले हटाइएको छ । सबै स्थानीय सेवाग्राहीलाई बुझेर छानबिन होस्’, उनले भनिन् ।आफूलाई जागिरबाट निकाल्न वडाध्यक्षले कीर्ते स्वास्थ्य आमा समूह गठन गरी निष्कासनको निर्णय गराएको नापितको आरोप छ ।कीर्ते स्वास्थ्य आमा समूह गठन गरी उक्त निर्णय गराएपछि जितगढी आमा समूहकी अध्यक्ष माया भण्डारीले शहरी स्वास्थ्य केन्द्रलाई आमा समूह पुनर्गठन के कसरी भएको हो, जानकारी पाउँ भन्दै पत्र लेखेकी छन् । अध्यक्ष भण्डारीले महिला स्वयंसेविकालाई निष्कासन गर्नुपर्नाको कारण खुलाई जानकारी दिनसमेत अनुरोध गरेकी छन् ।जितगढी टोल आमा समूह स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा पर्छ ।

माया भण्डारी एक वर्षअघि नै जितगढी टोल स्वास्थ्य आमा समूहमा चुनिएकी थिइन् । तर, उनलाई जानकारी नदिइकनै वडाध्यक्षले साउन ५ गते छुट्टै भेला गरी अर्को महिला समूह बनाएर नापितलाई निष्कासनको निर्णय गराएका छन् ।नापितलाई निष्कासनको निर्णय गर्ने उद्देश्यले बोलाइएको भेलाको अध्यक्षता लक्ष्मी पन्तले गरेकी थिइन् । पन्त जितगढी टोल विकास संस्थाकी अध्यक्षसमेत हुन् ।निष्कासनको निर्णय गरिएको माइन्युटमा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाको सिफारिसअनुसार निष्कासन गरिएको व्यहोरा उल्लेख गरिएको छ ।स्वास्थ्य केन्द्रका इन्चार्ज गुरुङले बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाले सिफारिस गरेपछि पन्तलाई निष्काशन गरिएको बताए । ‘स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालको पत्रका आधारमा नापितलाई निष्कासन गरिएको हो’, उनले भने । उनले छुट्टै स्वास्थ्य आमा समूह गठनमा भने मिसिङ भएको स्वीकारे ।‘स्वास्थ्य महिला समूह अन्य आमा समूह जस्तो होइन, यसको गठनमा मिसिङ भएकै हो, यसबारेमा मैले वडाध्यक्ष र नगरपालिकामा समेत जानकारी गराइसकेको छु’, स्वास्थ्य केन्द्र इन्चार्ज गुरुङले भने ।उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले वडा कार्यालयबाट भएको निर्णयका आधारमा नापितलाई निष्कासनको सिफारिस गरिएको बताए ।वडाध्यक्ष बस्नेतले आफूविरुद्धको मुद्दामा नापित साक्षी बसेको र बारम्बार वडाध्यक्षलाई असहयोग गरेकाले निष्कासन गरिएको दाबी गरे ।
स्थानीय जमुना पुनले आफूविरुद्ध घरबाट निकाला गरेकोलगायतका आरोप लगाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दिएकी थिइन् । लक्ष्मी पन्तसँग जमुनाले करिब चार वर्षअघि लिएको ७ लाख ऋणलाई मिटरब्याजको रुपमा बढाएर १३ लाख हुँदै ५० लाखसम्म पुर्‍याएको र यसमा वडाध्यक्षको समेत मिलेमतो रहेको जमुनाको आरोप थियो । यो घटनालाई जग्गा किनबेचको फर्जी कागज तयार गरेर घरबाट निकालेको उनीहरुको आरोप छ ।वडाध्यक्षले भने यो उनीहरु दुईबीचको घटना भएको, जग्गा किनबेच नै भएको र यसमा आफूले सहजीकरणमात्रै गरेको बताए । त्यसपछि जमुनाले वडाध्यक्षविरुद्ध मुद्दा हालेकी थिइन् ।
जमुनालाई घरबाट निकाला गर्ने काममा वडाध्यक्ष बस्नेतसमेत सहयोगी बनेको आरोप छ । वडाध्यक्ष बस्नेतले भने स्वयंसेविका नापित मुद्दामा साक्षी बसेको आरोप लगाए ।‘मेराविरुद्ध मुद्दा हाल्ने काम उचित थिएन । त्यसमाथि स्वयंसेविका नै मेरोविरुद्ध परेको मुद्दाको पक्षमा उभिनुभयो, यो जायज होइन’, वडाध्यक्ष बस्नेतले भने ।जमुनाको न्यायको लागि आफूले आवाज उठाएको तर मुद्दाको साक्षी भने नबसेको स्वयंसेविका नापितले बताइन् । यसमा आफूमाथि वडाध्यक्षले व्यक्तिगत रिसिइवी लिएको उनको भनाइ छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६