खोज–अनुसन्धान

५ स्मार्ट रिफ्रेस सेन्टर ४ वर्षमा पनि पुरा हुन सकेनन




कपिलवस्तु ३० साउन । लुम्बिनी प्रदेश सरकारले पूर्व पश्चिम राजमार्गअन्तर्गत विभिन्न जिल्लामा ५ वटा स्मार्ट रिफ्रेस सेन्टर निर्माण थालेको ४ वर्ष पुरा हुँदा अझैसम्म एउटा पनि सम्पन्न गरेको छैन । २०७७ सालमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले पूर्व पश्चिम राजमार्गमा लामो दुरीको यात्रामा गाडी रोक्ने, स्वास्थ्यकर खाना, नास्ता र केही समय आराम गर्ने उपयुक्त ५ स्थानमा रिफ्रेस सेन्टर निर्माणको सुरुवात गरेका थिए ।
खानेपानी, ग्रामीण सहरी विकास मन्त्रालयका महाशाखा प्रमुख गुणनिधि पोखरेलले ५ योजनामध्ये रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा र नवलपरासीको बर्दघाटमा पहिलो चरणको काम अन्तिम चरणमा पुगेको बताए । उनले दाङदेउखुरीको लमहीमा ठेक्का भएपछि जग्गा विवादले रोकिएको तथा बर्दियामा जग्गा व्यवस्थापन नभएकाले सुरु नै नभएको खुलाए । रुपन्देहीको सैनामैनामा निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने अवस्थामा रहेको छ । दोस्रो चरणमा फोहोर व्यवस्थापन, पार्क निर्माण, चार्जिङ स्टेसन बनाउने योजना छ । त्यसको लागि बजेट हुनसाथ टेन्डरमा जाने योजनामा कार्यालय रहेको छ ।
यस्तै, नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित राजमार्गदेखि ३०० मिटर तल पारिजात सामुदायिक वन हाताभित्र रिफ्रेस सेन्टर निर्माण काम जारी छ । यता कपिलवस्तुको चन्द्रौटास्थित रिफ्रेस सेन्टर पनि पूर्ण भएको छैन । आयोजनाका अनुसार पहिलो चरणको ठेक्काअनुसार निर्माणका धेरै काम सकिए पनि लाइट फिटिङ लगायतका केही काम बाँकी छ । तर, दोस्रो चरणका लागि यहाँ पनि बजेट आएको छैन ।
यता अहिले पूर्व पश्चिम राजमार्गमा यात्रा गर्दा जगंलमा दिशा पिसाब गर्नुपर्ने बाध्यता छ । यस्तै, चालकलाई केही समय आराम गर्ने ठाउँको अभाव छ । पाकिङको पनि उस्तै समस्या छ । राजमार्ग बन्ने ती रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेसन र ड्राइभर रुम लगायतका संरचना रहने योजना छ । यसबाट चालक र यात्रु दुवैले लाभ लिन सक्ने अपेक्षाले रिफ्रेस सेन्टरको अवधारण लिएर बजेट छुट्याएको तात्कालीन भौतिक पूर्वधार मन्त्री बैजनाथ चौधरीले बताए ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६