बुटवल ३१ साउन । बुटवलका नीजि तथा संस्थागत विद्यालयले ०७६ सालमा तोकेको शुल्क भन्दा बढि शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयका लागि नयाँ शुल्क निर्धारण गरेको छ । उपमहानगपालिकाले २०७६ सालमा बनाएको शुल्कसम्बन्धी मापदण्डभन्दा बढि शुल्क लिएको गुनासो अभिभावकहरुले गरेपछि उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना शुल्क, प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको र सो शुल्क राजपत्रमा समेत प्रकाशित भएको बताए ।
उनले राजपत्रमा प्रकाशित भएकाले नयाँ शुल्क साउन महिनाबाटै कार्यान्वयनमा आउने बताए । उपमहानगरपालिकाले क, ख र ग बर्ग छुट्टाएर शुल्क निर्धारण गरेको छ । नीजि विद्यालयले पुर्व प्राथमिक तहका लागि क बर्गकाले बढिमा २ हजार ७५० शुल्क लिन पाउनेछन् । ख बर्गकाले २ हजार ४ सय ग बर्गकाले २ हजार शुल्क लिने पाउनेछन् । त्यसैगरी प्राथमिक तहमा कक्षा १ देखि ५ सम्म क बर्गका विद्यायले ३ हजार रुपैया सम्म, ख बर्गकाले २ हजार ६ र ग बर्गकाले २ हजार २ सय शुल्क लिन पाउनेछन् । यस्तै निमावि तहमा कक्षा ६ देखि ८ सम्म क, ख र ग बर्गकाले क्रमश ३ हजार ३ सय, ३ हजार र २ हजार ६ सय रुपैयाँ लिन पाउनेछन् । यस्तै माध्यमिक विद्यालयका लागि क बर्गकाले ४ हजार २ सय, ख बर्गकाले ३ हजार ६ सय, ग बर्गकाले ३ हजार २ सय शुल्क लिन पाउँनेछन् । त्यस्तै मावि ११ र १२ मा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४७ सय, ५ हजार र ५२ सय लिन पाउनेछन । यस्तै व्यवस्थापनतर्फ, क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरेको छ ।
प्रतिक्रिया