घोराही १० भदौ ।दाङको तुलसीपुरमा सुविधासम्पन्न महिला बन्दी गृह निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयबाट विनियोजित तीन करोड ८८ लाख सात हजार रुपियाँको लागतमा महिला बन्दी गृह निर्माण भएको हो। नयाँ भवनमा रहेका १८ कोठामा ८० जनासम्म कैदीबन्दीलाई राख्न सकिने तुलसीपुर कारागार प्रशासनका प्रमुख जेलर चिन्तामणि रेग्मीले जानकारी दिनुभयो।
यसअघि पुरानो बन्दी गृहका तीन वटा कोठामा ४९ जना महिला कैदीबन्दीसहित तीन जना आश्रित बालबालिका गरेर ५२ जना बस्दै आएका थिए। २५ जना राख्न मिल्ने क्षमताको बन्दी गृह भए पनि क्षमताभन्दा बढी राख्नुपर्ने बाध्यता रहेको थियो। नयाँ भवन निर्माणसँगै महिला कैदीबन्दीलाई नयाँ भवनमा सारिएको जेलर रेग्मीले बताउनुभयो। तुलसीपुर बन्दी गृहमा ५ सय ४३ जना कैदीबन्दी छन्। तुलसीपुरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै बन्दी गृह छन्।
तीन सय क्षमता रहेको पुरुष बन्दी गृहमा ४९१ जना कैदीबन्दीलाई राखिएको तुलसीपुर कारागार प्रशासनका प्रमुख जेलर रेग्मीले जानकारी दिनुभएको छ। नवनिर्मित महिला बन्दी गृहको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले उद्घाटन गर्नुभएको हो।
प्रतिक्रिया