प्रदेश

पाल्पामा भगवती जात्रा भोलि निकालिँदै, तयारी पूरा



पाल्पा, २० भदौ । सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा बिहीबार निकालिँदै छ।२०३औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ। जात्राको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताए। रथको मर्मत गर्नुका साथै मन्दिर सजावट गर्ने काम सम्पन्न भएको छ। ९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ। जिम्मेवारी अनुसार उपसमितिका सदस्यले काम गरिरहेको उनले बताए।

जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाको उपस्थिति रहने अध्यक्ष महर्जनले बताए। ‘५० हजारभन्दा बढी जात्राको अवलोकन गर्न आउने आयोजकको अनुमान छ। पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही अर्घाखाँची, काठमाडौं, पोखरा लगायताका ठाउँबाट दर्शनार्थी आउने छन्’, उनले भने, ‘जात्राको व्यवस्थापन गर्न आवश्यक तयारी गरेका छौं। दर्शनार्थीको सुरक्षा लागि प्रहरी, स्वयंसेवक परिचालन गरिने छ।’ जात्रामा सहभागीका लागि ठाउँठाउँमा खानेपानीको समेत व्यवस्था मिलाएको उनले बताए।

साइतअनुसार बिहिबार दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्म भगवतीको रथ उठाइने सचिव प्रकाशनाथ गोंगलले बताए। रथयात्राले तानसेन बजार परिक्रम गर्नेछ। भगवती जात्राका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग मागेर खर्चको व्यवस्थापन गरिने उनले बताए।

किन निकालिन्छ भगवती जात्रा ?

भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ। वि.सं.१८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकाल्ने चलन छ।

जितगढीको युद्ध ऐतिहाँसीक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।

भगवती जात्रा निकालिने दिन बिहीबार पाल्पामा सार्वजनिक विदा दिइएको छ। प्रदेश सरकारले सोमबार विज्ञप्ती जारी गरी बिदा दिएको जनाएको हो।

प्रकाशित : २० भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६