चितवन २२ भदौ । आगामी असोज ८र ९ गते हुने एमालेको बागमती प्रदेश अधिवेशनबाट चुनिने नेतृत्वबारे चर्चा सुरु भएको छ । प्रदेशको नेतृत्वका लागि नेताहरुले आ–आफ्नो लबिङलाई तीव्र पारेका छन् । त्यस्तै स्थानीय तहबाट चुनिएर आउने प्रतिनिधिमा आफ्नो पक्षका कार्यकर्ता बढी पार्न पनि उनीहरुले व्यापक प्रयास गरिरहेका छन् ।संघीय राजधानीसमेत रहेका कारण यहाँको नेतृत्वलाई निकै महत्वका साथ हेरिन्छ । साथै धेरै केन्द्रीय नेताहरु भएका कारण पनि यहाँको प्रतिस्पर्धा रोचक हुने निश्चित छ । एमालेले प्रदेशहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको थियो । तर लुम्बिनी प्रदेशमा दुईवटा प्यानलै बनाएर चुनाव भएपछि त्यसको प्रभाव बागमतीमा पनि परेको छ । र, यहाँ पनि नेतृत्व चयनका लागि चुनाव हुने निश्चित जस्तै छ ।एमालेको बागमती प्रदेश अध्यक्षका लागि एक दर्जन जति नेताले आकांक्षा देखाएका छन् ।
यहाँको अध्यक्षका लागि केन्द्रीय सदस्यसमेत रहेका सिन्धुपाल्चोकका नेता सरेश नेपालदेखि भक्तपुरका नेता एवम् पोलिट्ब्युरो सदस्य महेश बस्नेतसम्मको चर्चा छ ।त्यस्तै काभ्रेका नेता गोकुल बास्कोटाले सर्वसम्मत भए आफूले प्रदेशको नेतृत्व गर्ने बताएका छन् । उनले चुनाव हुने हकमा भने पछाडि हट्ने संकेत गरेका छन् ।दोलखाका नेता एवम् पोलिट्बुरो सदस्य पार्वत गुरुङ र आनन्द पोखरेलले पनि प्रदेशको नेतृत्वका लागि चाहना व्यक्त गरेका छन् । उनीहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै खुसी पारेर नेतृत्वमा आउन ताकिरहेका छन् ।नुवाकोटका नेता एवम् अहिलेको प्रदेश अध्यक्षसमेत रहेका केशव पाण्डेले पनि पुनः प्रदेश हाँक्ने रहर गरेका छन् ।त्यस्तै केन्द्रीय सदस्यहरु मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेल चुनाव लडेरै भए पनि प्रदेशको नेतृत्व हत्याउने दाउमा छन् ।
अहिलेका प्रदेश कमिटी सचिव रहेका चितवनका विजय सुवेदीसँगै नेता कृष्णभक्त पोखरेल, धादिङका भूमि त्रिपाठी र खेम लोहनी, सिन्धुपाल्चोकका अरुण नेपाल, काठमाडौंका रामेश्वर फुँयाल र सानुकुमार श्रेष्ठको नाम पनि चर्चामा छ ।त्यस्तै सिन्धुपाल्चोककै नेता एवम् स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले पनि प्रदेश अध्यक्षका लागि रहर गरेका छन् । उनी चुनावै लड्न भने तयार नहुन सक्छन् । महेश बस्नेत पनि चुनावै लड्ने मनस्थितिमा भने नभएको पाइएको छ ।स्थायी कमिटी सदस्य तामाङ, पोलिट्ब्युरो सदस्यहरु बस्नेत, बास्कोटा, पोखरेल र गुरुङ चुनाव नलड्ने सम्भावना छ ।
प्रतिक्रिया