अर्थ-वाणिज्य

कपिलवस्तुमा झारा टार्ने अनुगमन ,ढाड सेक्ने कालोवजारी



भुपाल थापा,
कपिलवस्तु २५ भदौ ।कपिलवस्तुका मुख्य बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू खुलेआम विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका छन् । नियमित बजार अनुगमन नहुँदा यहाँका ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् ।मुख्यतः चाडपर्व लक्षित बजार अनुगमन गर्ने गरिएको कपिलवस्तुमा चाडपर्व नजिकिए पनि अझै प्रभावकारी रुपमा सुरु हुन सकेको छैन् । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण समेत हुने गरेको भएता पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चाँसो नदेखाएको सरोकारवाला बताउँछन् ।भर्खर मात्र मनाइएका जनै पूर्णिमा÷रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, तीनछठ्ठी पर्वहरु मनाइरहँदा बजार अनुगमन हुन नसकेको कपिलवस्तुमा नेपालीको मुख्य चाड हरितालिका तीज, दशैँ तिहार, छठ पर्व नजिकिँदा पनि बजार अनुगमन शुरु हुन सकेको छैन् ।

सदरमुकाम तौलिहवा तथा दक्षिणी क्षेत्रका मुख्य बजार कृष्णनगर, मर्यादपुर, चाकरचौडामा खुलेआम म्याद गुज्रेका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण हुँदै आएकाले यहाँका उपभोक्ता स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित हुनुपरेको छ ।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको बजार अनुगमन समितिले यशोधरा गाउँपालिका स्थित मर्यादपुर बजार, मायादेवी गाउँपालिका स्थित चाकरचौडा, बुद्धभूमि नगरपालिका स्थित महेन्द्रकोट र शिवराज नगरपालिका स्थित चन्द्रौटा बजारमा बेलाबखतमा (उजुरीका आधारमा) अनुगमन गरेपनि सदरमुकाम र ग्रामीण क्षेत्रका स–साना बजारको अनुगमन नगर्दा आम उपभोक्ता स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित हुनुका साथै कालो बजारीयाले प्रश्रय पाएको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी (दिपु)ले बताए ।
ब्यवसायी पनि उपभोक्ता रहने गरेकाले स्वस्थ उपभोगमा सबै सचेत रहनुपर्ने उनको तर्क छ । उपभोक्ताहरु अहिले बिस्तारै सचेत हुँदै गएकाले पनि स्वयम् उपभोक्ताले उपभोग्य बस्तु खरिदका क्रममा आफ्नो अधिकार प्रयोग गर्न उनले आग्रह समेत गरेका छन् ।उपभोक्ताको हितलाई मध्यनगर गरेर बजार अनुगमनलाई तिब्रता दिने तयारी जिल्ला प्रशासन रहेको बुझिएको छ । जिल्ला स्तरीय बजार अनुगमन समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रहने ब्यवस्था छ, यद्यपि मातहतका कर्मचारीहरुको संलग्नतामा छिट्टै बजार अनुगमन गरिने जनाइएको छ ।
स्थानीय तह, सम्बन्धित कार्यालय र जिल्ला प्रशासन कार्यालयले संयुक्तरुपमा बजार अनुगमन गर्ने जनाइएको छ । बजार अनुगमनको लागि क्षेत्रगत र विषयगत गरी दुई कलस्टर बनाइएको छ ।क्षेत्रगत रुपमा जिल्लाका मुख्यमुख्य बजार तौलिहवा, जीतपुर, गोरुसिंगे, चन्द्रौटा, बहादुरगंज, कृष्णनगर, पकडी लगायतका रहेका छन् । विषयगतमा स्वास्थ्य, पशु तथा पशुजन्य, खाद्य प्रविधि, कृषि तथा कृषिजन्य, नापतौल, इन्धन, यातायात, वाणिज्य तथा आपूर्ति लगायतका रहेको जनाइएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहालले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय आफैँले पनि बजार अनुगमन गर्ने भएपनि संयुक्तरुपमा बजार अनुगमन गर्ने निर्णय भएकाले केही ढिला शुरु हुन गएको बताए । बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन भनेर तथा कालोबजारी र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको कार्य गरिने दाहाल बताउँछन् ।
बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन् । बजार अनुगमनले उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यापारीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेम बहादुर गौतमको भनाइ रहेको छ । “बजारमा बिक्री हुने सामग्रीका विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्छ” उनी भन्छन् ।बजार अनुगमनलाई निरन्तरता दिइएको दाबी गर्दै गौतमले साउन महिनामा मात्रै ४ पटक अनुगमन गरिएको जिकिर गरे । “मुख्यत मर्यादपुर, चन्द्रौटा क्षेत्रमा अनुगमन गरिएको छ” उनले भने । यो अवधिमा २५० पसलहरुको अनुगमन गरेकोमा ४१ वटा पसलहरुको दर्ता रहेको र बाँकी बिनादर्ता सञ्चालनमा रहेको पाइएको उनले जनाए ।
जिल्ला स्तरीय अनुगमन समितीको सदस्य सचिव रहने प्रावधान रहेकाले पनि मुख्यत सचेतनामुलक अभियान सञ्चालन गर्ने मात्रै काम भएको प्रति भने गौतमको असन्तुष्टि छ । उनले भने, “घरेलुलाई मुद्दा चलाउन सक्ने अधिकार हुुनुपर्छ” । उपभोक्ता सचेत रहनुपर्ने नै उपयुक्त बिधि रहेको उनको भनाइ छ ।बजार अनुगमन नियमित रुपमा भयो भने बजारमा हुने विभिन्न प्रकारका कालोबजारी नियन्त्रण हुने र यसले मानवको स्वास्थ्यलाई बचाउने कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश प्रसाद गुप्ताले बताए । चाडपर्व लक्षित मात्रै नभएर समय–समयमा अनुगमन गरे आफूहरुलाई पनि सजिलो हुने व्यापारीले बताएका छन् ।

फाइल तस्बीर : बजार अनुगमन

प्रकाशित : २५ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६