एजेनसी ५ असोज । जुन १९ मा भान्कुवर, ब्रिटिस कोलम्बिया, क्यानडामा शिख कार्यकर्ता हरदीप सिंह निज्जरको हत्या भयो । क्यानेडियाली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशको सुरक्षा एजेन्सीसँग उक्त हत्याकाण्डको पछाडि भारत सरकार र गुप्तचरको हात रहेको विश्वसनीय सूचना भएको दाबी गरे । प्रधानमन्त्री ट्रुडोको यस्तो दाबीपछि घटनाले नयाँ महत्त्व र विश्वव्यापी चर्चा पायो । भारत सरकारले भने उक्त आरोप अस्वीकार गर्यो ।निज्जरको हत्यालगत्तै शिख कार्यकर्ताले यसमा भारतीय गुप्तचरको हात रहेको आरोप लगाएका थिए । निज्जर आफैँले भन्दै आएका थिए कि, उनी मारिन सक्नेछन्। उनी ४५ दिनको अन्तरालमा मारिने तेस्रो उच्च तहको खालिस्तानी कार्यकर्ता थिए । उनी ठान्थे कि हत्या गरिनुपर्ने खालिस्तानी अभियन्ताको सूचीमा आफूलाई ‘हिट लिस्ट’ मा राखिएको छ ।
निज्जर त्यो दिन स्थानीय समयअनुसार राति ८.३० बजे गुरु नानक गुरुद्वारबाट बाहिर निस्किरहेका थिए। त्यही बेला अज्ञात हमलाकारीले उनको घाँटी थिचेका थिए । निज्जरभन्दा अघि मेमा पाकिस्तानको लाहोरमा परमजीत सिंह पञ्जबारलाई गोली हानी मारिएको थियो। उनी खालिस्तान कमान्डो फोर्सका प्रमुख मानिन्थे ।खालिस्तान मुक्ति मोर्चाका स्वघोषित प्रमुख अवतार सिंह खण्डाको जुन १५ मा बेलायतको बर्मिङघम अस्पतालमा मृत्यु भएको थियो । उनलाई विष खुवाएर मारिएको हुनसक्ने अनुमान गरिएको थियो, यद्यपि उनी ब्लड क्यान्सरका रोगी थिए ।
बेलायती प्रहरीले यसलाई शंकास्पद मानेर थप अनुसन्धान गर्न अस्वीकार गरेको थियो ।खन्डाले ‘बारिस पञ्जाब दे’ नेता अमृतपाल सिंहको समर्थनमा प्रदर्शनको नेतृत्व गर्दै मार्चमा बेलायत स्थित भारतीय उच्च आयोगको कार्यालयमा लगाइएको भारतीय झण्डा उतारेका थिए । यो घटनापछि भारत र बेलायतबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो । उपरोक्त श्रृंखलाबीच निज्जरले आफ्नो पनि हत्या हुनसक्ने बताउँदै आएका थिए ।
को थिए निज्जर ?
निज्जर खालिस्तान टाइगर फोर्सका प्रमुख थिए । उनीमाथि भारतमा आतंकवादको मुद्दा थियो । उनी ‘मोस्ट वान्डेड’ सूचीमा थिए । उनले ‘शिख फर जस्टिस’ का नेता गुरुवन्त सिंह पन्नुनको नजिक रहेर काम गरेका थिए । निज्जरले भारतले आफूमाथि लगाउँदै आएका आरोपको निरन्तर खण्डन गर्ने गरेका थिए । उनी क्यानडाका नागरिक थिए । क्यानडामा शिख समुदायका नेताका रूपमा उनको राम्रै परिचय स्थापित थियो । तर, भारतले क्यानडासँग कहिल्यै निज्जरको सुपुर्दगीको माग गरेको थिएन ।
निज्जर सन् १९९७ मा पञ्जाबको जालन्धर जिल्लाबाट क्यानाडा गएका थिए । त्यहाँ उनले प्लम्बरका रूपमा काम सुरु गरेका थिए । अन्ततः उनी भान्कुवर सुरेय गुरु नानक शिख गुरुद्वारका सभापति भएका थिए । भारतको पञ्जाबका कुनै आतंकवादी तथा पृथकतावादी संगठनसँग उनको सम्बन्ध भए नभएको प्रष्ट थिएन तर उनी क्यानाडमा निरन्तर चर्चित र महत्त्वपूर्ण व्यक्ति हुँदै गएका थिए।भारतमा भने सन् २०२० को सेप्टेम्बरमा उनलाई आतंककारी घोषणा गरिएको थियो । साथै, फरार अपराधीको सूचीमा राखिएको थियो । उनको टाउकोमाथि १० लाख रुपैयाँको पुरस्कार समेत घोषणा गरिएको थियो। जालन्धरको भरंसिहपुरामा भएको निज्जरको अचल सम्पत्ति सरकारले कब्जा गरेको थियो ।
सन् २०१८ मा उनीमाथि दिल्लीमा एक याचिका दर्ता भएको थियो । त्यसमा उनले भारतमाथि आतंकवादी आक्रमण गर्ने तयारी गरिरहेको आरोप लगाइएको छ । उनी भारतको सार्वभौमसत्ता र अखण्डतालाई हानी पुर्याउने अभियन्ता भएको आरोप पनि थियो । साथै, भारतमा हुने शिख आतंकवादी क्रियाकलापका लागि स्रोत जुटाएको आरोप उनले खेपिरहेका थिए । उनको नाम सन् २०१६ मा जालन्धरमा भएको आरएसएस नेता जगदीश गंगनेजाको हत्यामा पनि जोडिएको थियो।
क्यानाडामै खालिस्तानी प्रतिस्पर्धा
सन् २०२२ को जुन १५ मा सरेयामा भएको रिपुदमन सिंह मलिकको हत्यापछि निज्जर चर्चामा आएका थिए । मलिक सन् १९८५ को एयर इन्डिया बम विस्फोट काण्डमा मुछिएका र सफाइ पाएका व्यक्ति थिए । निज्जर र मलिकबीच विवाद थियो । धार्मिक पुस्तक गुरु ग्रन्थ साहिबाको छपाईको विषयलाई लिएर उनीहरूबीच मतभेद उत्पन्न भएको थियो ।यद्यपि, मलिकको हत्यापछि निज्जरले आफ्नो त्यस्तो कुनै मतभेद र विवाद नभएको बताएका थिए । तर बाबुको हत्या, निज्जरसँगको विवाद र गुरुग्रन्थ साहिबाको छपाइबारे छानबिन गर्न मलिकका छोराले एक निवेदन दर्ता गराएका थिए ।
निज्जरको अन्तिम अन्तर्वार्ता
हत्याको एक दिनअघि मात्र निज्जरले सुरेयको एक रेडियोलाई अन्तर्वार्ता दिँदै यो दाबी गरेका थिए कि, उनी हत्या गरिने शिख कार्यकर्ताको उच्च सूचीमा छन् । अन्तर्वार्ता गर्ने पत्रकार गुरुप्रित सिंहका अनुसार उनले आफ्नो हत्या सम्भावनाको भय प्रष्ट ढंगले राखेका थिए ।निज्जरले भनेका थिए–‘लाहोरमा गत महिना भएको परमजीत सिंह पञ्जबारको हत्याको मैले विरोध गरेँ । उनको स्मरणमा गुरुद्वारमा प्रार्थना गरियो । मैले शिख समुदायलाई विश्वव्यापी रूपमा सचेत गहन आग्रह गरेको छु । मलाई थाहा छ म शिख समुदायका शत्रुहरूको तारो बनेको छु । हाम्राविरुद्ध ‘कन्ट्रयाक्ट किलर’ परिचालित छन् । जसले शिख समुदायको अधिकारको कुरा गर्दछ, उसैलाई लक्षित गरिँदैछ ।’ उनको यो भनाइ भाइरल भएको थियो ।
खालिस्तानी आन्दोलनप्रति सहानुभूति राख्नेका अनुसार निज्जर कुनै कट्टरतावादी थिएनन् । उनी विनम्र स्वभावका दयालु मानिस थिए । उनले सन् २०१९ को न्युजिल्यान्ड बम आक्रमणमा मारिएका मुस्लिम र क्यानाडाकै कामलुस जनजाति बालबालिकाको हत्यापछि गुरुद्वारमा प्रार्थना सभा आयोजना गरेका थिए ।निज्जरको हत्याप्रति शिख डायस्पोरा र क्यानेडियाली शिख समुदायले तीव्र आक्रोश व्यक्त गरेको थियो । शिख प्रदर्शनकारीले राजमार्ग बन्दसम्म गरेका थिए । भारतमा भने शिख पृथकतावाद विरोधीले निज्जरको मृत्युमा खुसी व्यक्त गरिरहेका छन् । भारत सरकारले निज्जरको हत्यामा आफ्नो कुनै संलग्नता नभएको बताएको छ ।दुवै देशका सरकारले एक(अर्को देशका कुटनीतिज्ञलाई निकाला गरेका छन्। भारत–क्यानडा बीचको यो कुटनीतिक संकट कसरी अन्त्य हुन्छ, अझै पर्खेर हेर्नुपर्ने छ ।
क्यानडामा शिख समुदाय
क्यानडाको जनसंख्या सन् २०२१ को जनगणनाअनुसार ३ करोड ७० लाख छ । त्यसमध्ये १४ लाख भारतीय मूलका छन् भने ७ लाख ७० हजार शिख मात्र छन् । अर्थात् क्यानाडाको कुल जनसंख्याको करिब २ प्रतिशत पञ्जाबी छन्। जबकि, भारतमा भने कुल जनसंख्याको १।७ प्रतिशत मात्र शिख छन् । भारतमा शिख समुदायको जनसंख्या ०।२ प्रतिशतका दरले ह्रासोन्मुख छ ।भारत र क्यानाडाको पञ्जाबी समुदायबीच नजिकको सम्बन्ध छ । भारतीय पञ्जाबी वैदेशिक आप्रवासनका लागि क्यानडालाई उपयुक्त ठान्दछन। भारतमा अहिले पनि खालिस्तानी आन्दोलन सकिएको छैन, तर त्यति धेरै बलशाली पनि छैन । यसै वर्षको अप्रिलमा ‘वारिस दे पञ्जाब’ का नेता अमृतपाल सिंह पक्राउ परेपछि खालिस्तानी आन्दोलन पुनस् चर्चामा आएको हो । अहिले उनी असमको डिब्रुगढ जेलमा छन्।
क्यानडामा मात्र हैन, अमेरिका, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि पञ्जाबी समुदायको ठूलो जनसंख्या छ । भारतमा हुने खालिस्तानी आन्दोलनका कारण भारतीय गुप्तचरले यी सबै देशका शिख समुदायमाथि निगरानी गर्ने गर्ने गर्दछन् । तीमध्ये पनि क्यानडामा खालिस्तानी कार्यकर्ताको क्रियाकलाप सघन हुने विश्वास गरिन्छ । यो धेरै लामो समयदेखि चल्दै आएको कुरा हो ।यसपटकको अनौठो के थियो भने निज्जर जसलाई भारतले फरार आतंककारीको सूचीमा राखेर टाउकोको मोल तोकेको थियो, उनी क्यानडामा एक लोकप्रिय र खुला सामाजिक कार्यकर्ता थिए ।
खालिस्तान खासै ठूलो समस्या रहेन अब
अनेक प्रयत्नका बाबजुद भारतको पञ्जाबमा खालिस्तान आन्दोलनले खासै जोर पक्रिन सकेको छैन । पञ्जाबी पहिचानको राजनीति गर्ने शिरोमणि अकाली दलले पनि आतंकवाद र पृथकतावादलाई मलजल गर्दैन । तथापि, भारत सरकारले खालिस्तान आन्दोलनलाई एक चुनौतीका रूपमा लिन छोडेको छैन।पछिल्लो समय शिख समुदाय भारतबाट पलायन हुने क्रम झनै बढ्दो छ । प्रत्येक ३ मध्ये एक पञ्जाबी क्यानडा जाने सपना देख्दछन् । त्यहाँ उनीहरूका नातागोता र आफन्त भएको हुँदा अरुको तुलनामा शिख समुदायलाई क्यानडा पलायन गर्न सहज हुन्छ । तर, भारत सरकारले शिख समुदायको पलायनलाई गम्भीरतापूर्वक लिन सकेको छैन । सबै पञ्जाबी भिन्नै खालिस्तानी राज्य चाहन्छन् भन्न सकिने कुनै प्रष्ट आधार छैन तर, शिख समुदायका भारत सरकारसँग गुनासा भने छन् । भारतसँग शिख समुदायले मन दुखाएको छ ।
पञ्जाब विश्वविद्यालय चन्डीगढका प्राध्यापक मञ्जित सिंह भन्छन्–‘खालिस्तान अब पञ्जाबमा कुनै ठूलो सवाल रहेन । तर, विभिन्न देशमा भइरहेको शिख समुदायका नेताको हत्या भने चिन्ताको विषय हो । यो मूलतः राज्यहरू बीचको कानुनी प्रबन्धनको विवाद हो । भारत र क्यानडा सरकारले यो विवादको गम्भीरतापूर्वक हल गर्नुपर्दछ । पञ्जाबीको असन्तुष्टिलाई भारतीय सरकारले केवल खालिस्तानी आँखाबाट मात्र हेर्न मिल्दैन ।’
(द वायरबाट संक्षेपिकृत अनुवाद)
प्रतिक्रिया