काठमाडौँ ८ असोज ।अनुमति नलिई मन्त्रालय–मन्त्रालयमा अनावश्यक रुपमा सेवाग्राही प्रवेश गरेर भीड बढेको गुनासो आएपछि सिंहदरबार प्रवेशका लागि क्युआर कोडसहितको पासको व्यवस्था गरिने भएको छ ।मुख्यसचिव बैकुण्ठ आर्यालको अध्यक्षतामा बसेको बैठकमा सचिवहरुले मन्त्रालयहरूमा अनावश्यक मान्छेको भीड लाग्ने गरेको गुनासो गरेका थिए । सचिवहरुले कार्यालय समयमा सर्वसाधारणको भीडले कामै गर्न नसक्ने अवस्था सिर्जना भएको गुनासो गरेपछि मुख्यसचिव अर्यालले सञ्चार तथा सूचना प्रविधि एवं गृह मन्त्रालयलाई आपसी समन्वय गरेर क्युआर कोड प्रयोग हुने प्रवेश पासको व्यवस्था मिलाउन भनेका थिए ।
बैठकमा उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आफ्नो मन्त्रालयमा कामै नभएका सेवाग्राही प्रवेश गरेर भीडभाड बढेको बताएका थिए । उनले मन्त्रालयमा ह्वारह्वार्ती मान्छे आउने गरेको प्रसंग जोड्दै यसबाट काम गर्न अप्ठेरो भएको बताए थिए । बैठकको निर्णयमा भनिएको छ, ‘केन्द्रीय सचिवालय सिंहदरबारमा गेट पास व्यवस्थापनलाई थप प्रभावकारी बनाउन गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहकार्य गरेर क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था मिलाइने छ ।’उक्त निर्णयका आधारमा मुख्यसचिव आर्यालले क्युआर कोडको व्यवस्था मिलाउन सञ्चार र गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । प्राविधिक पक्ष अध्ययन गरेर उक्त प्रणलाी लागू गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रधानमनत्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले बताए । उनले अहिले सैद्धान्तिक रुपमा निर्णय मात्र भएकाले अब सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने बताए ।
नियमित बैठकमा मरासिनी बाहेकका सचिवहरुले पनि अनावश्यक मान्छे आउने र सचिवसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने गरेको गुनासो गरेका थिए । चिनजानको मान्छे आएपछि फोटो खिच्न दिन्नँ भन्न पनि नसकिने,ु एक सचिवले भने, अहिले कतिबेला कसले के गर्छ थाहा हुँदैन । फोटो हेरेर यस्तो अपराधी र फटाहाले सचिवलाई आफ्नो बनाएछ भन्दै सामाजिक सञ्जालमा कमेन्ट आउने गर्छ, अनावश्यक रुपमा बदनामी कमाउनुपर्ने घटना भएको ती सचिवले दुखेसो गरे ।सिंहदरबारमा सर्वसाधारणको काम कमै हुने भन्दै सचिवहरुले एक जनाको काम गराउन लाइन लागेर तीन–चार जना आउने गरेको बताएका थिए ।
सचिव मरासिनीले भेटघाटका लागि आउनेले समय माग नगरी आउने भएकाले मन्त्रालयको काम गर्ने समयमा गफगाफमै बिताउनुपर्ने अवस्था रहेको बताए । खासमा चिनाजानी र राजनीतिक पहुँच भएकाहरु समय नै नलिई सचिवको कोठमा छिरेर घण्टौं बिताउने गरेका छन् । सचिवहरुले पनि सोही विषय उठाएका थिए । अहिले भित्रबाट आएको नामका आधारमा नागरिकता वा अन्य परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न सकिन्छ । प्रवेश सहज भएपछि भीड बढेको सरकारी अधिकारीहरूको ठम्याइ रहेको छ ।संघीयताको कुरा गरेका छौं, गाउँगाउँमा सिंहदरबार भन्ने नारा सबैतिर लाग्ने गरेको छ । तर सिंहदरबारको भीड घटेको छैन,ु मुख्य सचिव कार्यालयका एक अधिकारीले भने, संघीय मन्त्रालयमा त झन् जहिल्यै भीड देखिने गरेको छ ।
मन्त्रालयले अनावश्यक मान्छे प्रवेश गरेर सरुवामा प्रभाव पारेको भन्दै मूल गेटमा प्रहरी राखेर प्रवेश गर्नेको रेकर्ड राख्ने प्रणाली बनाएको छ । संघीय मन्त्रालयका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख सुमन दाहालले एक जना सरुवा गराउनका लागि तीन जना आउने गरेको बताए । यस्तै सरुवामा बाहिरबाहिरै बिचौलियाहरू सक्रिय हुने गरेको पनि उनको आरोप थियो ।
७ आश्विन २०८०, आइतबार
प्रतिक्रिया