काठमाडौं ९ असोज । काठमाडौंको गैह्रीगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका २३ वर्षीय युवक यतिबेला काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् ।‘एग्रेसिभ’ स्वभावका भएकाले सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राखेर सन्जय भन्डारीलाई हिरासतमा राखिएको छ । जन्मजात बोल्न नसक्ने ती आरोपीलाई प्रहरीले बहिरा संघका अधिकारी र दोभाषे अगाडि राखेर सोधपुछ गरिरहेको छ ।अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘बोल्न नसक्ने भएपनि युवक निकै चलाख देखिन्छन्। अनेक कुराहरु गरेर अलमलमा पारिरहेका छन्।‘ ती अधिकारीका अनुसार सन्जयले काठमाडौं, ललितपुर र सिन्धुपाल्चोकमा पनि मान्छे मारेको बताएका छन् ।प्रहरीले सन्जयले मान्छे मारेको भनेका ठाउँमा प्रहरीले बुझेको पनि थियो। स्वंय उनलाई पनि ती घटनास्थलमा पुर्यामएको थियो ।
‘उनले एउटा घटनास्थलबारे हामीलाई भनेको कुराहरु केही मिलेको छ । त्यहाँ बुझ्दा मान्छेको हत्या भएको पनि देखिन्छ । तर मारिएका मान्छेबारे अरु केही थाहा नभएकाले पुष्टी गर्न गाह्रो छ । उनले बोलेका ठाउँमा शंका गर्ने ठाउँहरु चाहीँ छन्’, ती अधिकारी भन्छन् ।काठमाडौंको रातोपुल र बालुवाटार क्षेत्रमा आफुले दुई जनाको हत्या गरेको सन्जयले सोधुपछका क्रममा बताएका थिए । अनुसन्धानका क्रममा ती ठाउँमा मानिस केही समय पहिला मृत भेटिएको पनि पाइएको छ । सन्जयले केहीलाई मारेर गाडेको पनि बताएका छन् । ‘पत्याउनु हुन्न भने ती ठाउँमा खनेर हेर्नुस्’, सन्जयले प्रहरीलाई भन्ने गरेका छन् ।‘उनी यसरी बोलिरहेका छन् की पूर्णरुपमा पत्याउन सकिने अवस्था पनि छैन’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् । दुई वर्षअघि बौद्धको टाउन प्लानिङमा मान्छेको एउटा मात्र खुट्टा भेटिएको घटना पनि आफुले गराएको उनले बताएका छन् ।
‘हत्या गरेर एउटा खुट्टा बोरामा ल्याएर राख्ने सिसिटिभीमा देखिएका चार जनामध्ये म पनि एक हुँ’, सन्जयले भनेका छन् ।लागु औषध मुद्धामा पक्राउ गरेर ल्याइएका एक युवकलाई पनि सन्जयले एउटा हत्यामा जोडेका छन् ।बौद्धको टाउन प्लानिङमा खुट्टा मात्र भेटिएको घटनामा ती युवक पनि संलग्न रहेको सन्जयले बताएका छन् । ती युवकसँग पनि प्रहरीले घटनाबारे सोधपुछ गरेको छ। प्रहरीका अनुसार ती युवकले सन्जयलाई नचिनेको बताएका छन् ।‘हामी अनुसन्धानकै क्रममा छौँ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । गैह्रीगाउँस्थित काठमिलमा बस्दै आएका ४ जना हत्या गरिएको अवस्थामा भदौ २९ गते राती फेला परेका थिए । सन्जयले मृतकमध्ये नविन राईले चलाएको मोटरसाइकलले ठक्कर दिएर उल्टै कुटपिट गरेका कारण आफुले उनको हत्या गरेको र घटना अरुले पनि थाहा पाएपछि बाँकी ३ जनाको पनि हत्या गरेको बयान दिएको प्रहरीको दाबी छ ।पेप्सीकोलामा दिदी भिनाजुकोमा बस्दै आएका सिन्धुपाल्चोकका भन्डारीलाई प्रहरीले सिसिटिभी फुटेजका आधारमा नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया