प्रदेश

कपिलवस्तुः चाडपर्व लक्षित बजार अनुगमन



कपिलवस्तु, १० असोज । चाडबाड नजिकिदै गर्दा कपिलवस्तुमा चाडपर्वलक्षित बजार अनुगमन थालिएको छ । जिल्ला सदरमुकाम तौलिहवामा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा बजार अनुगमन गरेको हो ।

अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाइ नभएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहालले बताउनुभयो । अखाद्य तेल १५ लिटर र लेबल नलगाएको वस्तु जफत गरी नष्ट गरिएको उहाँको भनाइ छ । किराना पसलहरूमा अखाद्य वस्तु नबेच्न र होटल तथा चिया नास्ता पसलमा सरसफाइ बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको प्रमुख दाहालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नायब सुब्बा बाबुराम शर्माका अनुसार तौलिहवा बजारमा करिब दुई दर्जन होटल, रेष्टुरेण्ट, मिठाई, किराना पसलहरूमा अनुगमन गरिएको बताउनुभयो । म्याद सकिएका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकालाई जरिवाना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बजार अनुगमन नियमित कार्यक्रम भए पनि जनगुनासो बढेकाले अनुगमनमा कडाइ गरिएको छ ।’’

यस्तै, घरेलु तथा साना उद्योगका श्रवणकुमार शैनिका अनुसार मूल्यसूची नभएकालाई मूल्यसूची राख्न र व्यवसाय विना दर्ता सञ्चालन गर्नेलाई दर्ता गर्न निर्देशन दिएको बताउनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको प्रशासनले जनाएको छ ।

अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सरोज खनाल, कपिलवस्तु नगरपालिकाका अधिकृत विनोद कुँवर प्रहरी लगायतको सहभागिता थियो ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६