तौलिहवा १० असोज । कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, घरेलु तथा साना उद्योग कार्यलय र कपिलवस्तु नगरपालिकाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाइ नभएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहालले बताउनुभयो । अखाद्य तेल १५ लिटर र लेबल नलागएको वस्तु जफत गरी नष्ट गरिएको उहाँको भनाइ छ । किराना पसलहरुमा अखाद्य वस्तु नबेच्न र होटल तथा चिया नास्ता पसलमा सरसफाइ बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको प्रमुख दाहालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नायब सुब्बा बाबुराम शर्माका अनुसार तौलिहवा बजारमा करिब दुई दर्जन होटल, रेष्टुरेण्ट, मिठाई, किराना पसलहरुमा अनुगमन गरिएको बताउनुभयो । म्याद सकिएका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकालाई जरिवाना गरिएको उहाँले बताउनुभयो । यस्तै, घरेलु तथा साना उद्योगका श्रवणकुमार शैनिका अनुसार मूल्यसूची नभएकालाई मूल्यसूची राख्न र व्यवसाय विना दर्ता सञ्चालन गर्नेलाई दर्ता गर्न निर्देशन दिएको बताउनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको प्रशासनले जनाएको छ ।अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका सरोज खनाल, कपिलवस्तु नगरपालिकाका अधिकृत विनोद कुँवर प्रहरी लगायतको सहभागित थियो ।यता चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीमा बितेको एक वर्षमा २८ पटक बजार अनुगमन भएको छ । जिल्ला बजार अनुगमन समितिले गत वर्षको साउनदेखि यता २८ पटक बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा करिब दुई दर्जन व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । अनुगमन समितिले पछिल्लो पटक गत असार २२ गते भैरहवाका दर्जन व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो । त्यसक्रममा ६ वटा खाद्यान्न पसललाई कारबाही स्वरुप जरिवाना ग¥यो । अनुगमनका क्रममा खरिद र बिक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान बिक्री गरेको, मूल्यसूची, साइनबोर्ड, खरिदबिक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नवीकरण नगरेको, खुद्रा बिक्रीको अनुमति लिएर थोक बिक्रेताका रुपमा कारोबार गरेको, नापतौल अनुमति नलिएको, लेबल नभएका खाद्यवस्तु बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो ।उहाँका अनुसार अनुगमनबाट गलत गर्ने व्यवसायीलाई जरिवाना गरिएको छ । यस्तो जरिवाना वापत पाँच लाख बढी असुल भएको छ । यस्तै, लाखौं मूल्यका सामान जफत गरिएको छ । खान अयोग्य सामान नष्ट गरिएको छ ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उपभोक्ता हितलाई प्राथमिकता राखेर प्रशासनले काम गरिरहेको बताउनुभयो । उहाँले राम्रो गर्ने व्यवसायीलाई सधैं प्रोत्साहन गर्ने र गलत गर्नेलाई कारबाही गर्ने जानकारी दिनुभयो ।
११ आश्विन २०८०, बिहिबार
प्रतिक्रिया