गण्डकी

ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु





ढोरपाटन, १६ असोज । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताए । उनका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ ।

उनका अनुसार सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन सिकार आरक्षमा आउने तयारीमा जुटेका छन् । “यस सिकारयाममा आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न विभागले अनुमति दिइसकेको छ, अहिले विदेशी सिकारी आरक्षतर्फ आउने तयारीमा छन्”, उनले भने, “यस वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका सिकारीले सिकार खेल्न अनुमति पाइसकेका छन् ।”

यस वर्ष प्रतिस्पर्धामा अमेरिकाका मात्रै पाँच सिकारी आउने भएका हुन् । उनीहरूले बन्दोबस्तीका सामग्रीमार्फत असोज १७ गतेपछि ढोरपाटन सिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन् ।

सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ‘ब्लक’मा पठाउनका लागि तयारी अवस्थामा राखिएको संरक्षण अधिकृत थापामगरले बताए। विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गरेको हुन्छ ।

पहिलो याममा अमेरिकाका पाँच सिकारी, जर्मनी, रसिया र बुलरियाका एक–एक सिकारी सिकार खेल्नका लागि अनुमति पाएका हुन् । विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले रु १० देखि २० लाखसम्म तिर्ने गरेको पाइन्छ ।

सिकारका लागि आरक्ष क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि ९असोज–मङ्सिर० पहिलो याम र ९फागुन–वैशाख० मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको भनाइ छ ।

विदेशी सिकारीसहितको समूहले १५ दिन जङ्गलमै समय बिताउँछन् । पन्ध्र दिनमा सिकार खेल्न नसके सिकारी खाली हात फर्कनुपर्ने आरक्षको नियम छ । विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ ।

साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, हेलिकोप्टर सबै बन्दोबस्तीका सामग्री तयार गर्दा एक जना सिकारीले करिब रु २० लाखसम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

विसं २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत स्थापना भएको छ । रासस

प्रकाशित : १६ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६