बुटवल १८ असोज। बुटवलको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएको तीन वर्ष भएको छ तर औद्योगिक क्षेत्र निर्माणको कामले भने अझै गति लिएको छैन । विसं २०७७ फागुनमा मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरिएको थियो । औद्योगिक क्षेत्रको जग्गाको विषयमा विवाद हुँदा निर्माणको काम अघि बढ्न नसकेको हो । मोतीपुर औद्योगिक क्षेत्रको कुल ८१३ बिघा जग्गामध्ये स्थानीय जनताको समेत त्यहाँ जग्गा परेपछि निर्माणको काम अघि बढ्न नसकेको हो ।जग्गा विवादको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिकाले ड्रोनबाट जग्गा नापजाँच गरेर औद्योगिक क्षेत्र र स्थानीय जनताको जग्गा छुट्याएपछि काम सुरु हुने भएको छ ।यसैबिच बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । उहाँले २०२२ सालदेखि बसोबास गरिरहेका स्थानीयको समस्याको समाधान गरेर औद्योगिक क्षेत्र निर्माण गर्नका लागि ड्रोनबाट जग्गा नापजाँच गरिएको भन्दै सोही अनुसारको जग्गा यकिन गरी निर्माणको काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहबाट भएको पहल सकारात्मक भए पनि सङ्घीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताउनुभयो ।बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको विषयमा नापजाँच गरी केन्द्रमा पठाएको र जग्गा फाँटवारी भएपछि निर्माणको काम हुने बताउनुभयो । लामो समय बसोबास गरेका र लालपुर्जासमेत भएका स्थानीयले जग्गामा दाबी गरेपछि मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको हो । नेपाल सरकारले २०७२ चैत १ गते पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।
१९ आश्विन २०८०, शुक्रबार








प्रतिक्रिया