भैरहवा २१ असोज ।नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल सरकार यूवाको विदेश पलायन रोक्न कुनै पहल नगरेको वताउनु भएको छ । उहाले मुलुकमा बेरोजगारी व्याप्त रहेको वेला युवा शक्ति विदेश पलायन भइरहेको बताउनुभयो । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभएका खनालले आइतबार समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवा शक्ति खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको बताउनुभयो ।उहाँले यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो उहाँले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने बताउनुभयो ।
यस्तै, नेता खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको समेत बताउनुभयो ।
वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरण आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले २०७४ मा बनेको दुई तिहाइको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि सङ्कटमा परेको बताउनुभयो । उहाँले अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको बताउनुभयो । उहाँले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अवस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने विषयमा व्यापक बहस चलाउनु पर्ने बताउनुभयो ।नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताउनुभयो । मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कट गहिरिँदै गएको उल्लेख गर्नुहुँदै नेता खनालले समाजवादी यात्राले जनतामा बढ्दो निराशालाई कम गर्न मद्दत गरेको बताउनुभयो ।
समाजवादी पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाइलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताउनुभयो । उहाँले असोज १४ बाट सुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै पाँच हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको बताउनुभयो । यात्राका क्रममा आफूहरूले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दबाब दिने बताउनुभयो । नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि सँगसँगै लैजानु पर्नेमा जोड दिनुभयो । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुनेछ ।
प्रतिक्रिया