बुटवल २४ असोज । लुम्बिनी प्रदेश प्रमुख अमीक शेरचनले सार्वजनिक पदमा बसेका व्यक्ति छोटो समयमा अकुत सम्पत्तिका मालिक हुने क्रम बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सुझाव दिएका छन् ।देश गरिब, सार्वजनिक पदमा बसेका व्यक्ति धनी बन्ने प्रक्रिया रोकिनुपर्छ । प्रदेश प्रमुख शेरचन अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले गरेका वार्षिक क्रिया कलापको प्रतिवेदन बुझ्दै उनले देशमा सुशाशन प्रवर्द्धन गर्ने हो भने सार्वजनिक पदमा बसेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।प्रदेश प्रमुख शेरचनले देश गरिब बन्दै जाने तर, पदधारणअघि सामान्य रहेका सरकारी कर्मचारी र सार्वजनीक पदका व्यक्तिको सम्पत्ति एकाएक बढ्दै जानुले संस्थागत भ्रष्टाचार मौलाएको प्रष्ट भएको भन्दै यसलाई रोक्न अख्तियारले अभियान नै चलाउनुपर्ने बताए । कारबाहीका नाममा साना कर्मचारी पक्राउ पर्ने तर, ठूला उम्कने गरेको बताउँदै उनले नीतिगत र कार्यविधिगत भ्रष्टाचार गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।
प्रदेश प्रमुख शेरचनले हरेक सरकारी विकासका काममा ५ देखि २५ प्रतिशतसम्म कर्मचारी र पदाधिकारीले कमिशन लिने गरेका गुनासा सुनेको बताउँदै कमिशन लिनेलाई कारबाही प्रक्रियामा ल्याउने रणनीति अपनाउन आग्रह गरे । सो अवसरमा शिर्ष नेता र सचिवको सम्पति छानविन हुनु परयो भन्ने माग जनस्तरवाट जोडदार रुपमा उठेको उहाले चर्चा गरे ।यस्तो विकृति रोक्न नागरिकस्तरमा समेत सचेतना अभियान चलाउन सुझाब दिए ।अख्तियार दुरुपयोग कार्यालय बुटवलमा गत आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ५ सय २३ उजुरी दर्ता थिए ।
दर्ता भएका उजुरीमध्ये एक हजार ५३ अर्थात ६९.१४ प्रतिशत प्रारम्भिक छानबिनबाट फर्स्यौट भएका छन् । त्यसमध्ये २ सय ४५ उजुरी आवश्यक कानुनी कारबाहीका पठाइएका छन् भने २ सय ३२ अन्य मुद्दामा गाभिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले बताए । कार्यालयले लुम्बिनीका १० जिल्ला हेर्ने गरेको छ । तिनमा सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका उपसचिव कोषहरि निरौलाले दुरुपयोगपछि कारबाही प्रक्रिया थाल्नुभन्दा पहिल्यैदेखि सतर्कता अपनाउन सुझाव दिँदै हरेक प्रदेशमा प्रदेश प्रमुखमार्फत प्रतिवेदन बुझाउन थालेको बताए ।
२५ आश्विन २०८०, बिहिबार
प्रतिक्रिया