पाल्पा २९ असोज । अपाङ्गता भएका शिक्षकलाई विद्यार्थीले स्कुटर उपहार दिएका छन् । जिल्लाको रैनादेवी छहरा–३, भुवनपोखरीस्थित रैनादेवी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक थमन साठीघरेलाई विद्यार्थीहरूले स्कुटर उपहार दिएका हुन् ।दश वर्षअघि जिप दुर्घटनामा परेर अपाङ्ग हुनुभएका शिक्षक साठीघरेलाई दैनिक विद्यालय आउन सहज होस् भनेर विद्यार्थीहरूले क्षमतामैत्री स्कुटर उपहार दिएका हुन् । रैनादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, रैनादेवी भुवनपोखरी–रुपन्देही सम्पर्क समाज र विद्यालयका विद्यार्थीहरूले क्षमतामैत्री स्कुटरका लागि रकम सङ्कलन गरेका थिए ।
गुरुको सम्मानका लागि रकम सङ्कलन गरेर शिक्षक साठीघरेलाई क्षमतामैत्री तीन पाङ्ग्रे स्कुटर प्रदान गरिएको पूर्व विद्यार्थी गिरीराज पाण्डेयले बताउनुभयो । शिक्षक साठीघरेलाई विद्यालय आउन जान समस्या भएकाले सबैको सहयोगमा उहाँलाई तीन पाङ्ग्रे स्कुटर प्रदान गरिएको उहाँले बताउनुभयो ।यसअघि काठको सहायताबाट उहाँ विद्यालयमा आउने र घर फर्किने गर्नुहुन्थ्यो । २२ वर्षदेखि उक्त विद्यालयमा अध्यापनरत शिक्षक साठीघरेलाई उपहार स्वरुप फरक क्षमतामैत्री स्कुटर प्रदान गरेपछि विद्यालयको दैनिकी सहज हुने उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘अपाङ्गमैत्री स्कुटर पाएपछि विद्यालयमा दैनिक आउन र घर फर्किन सहज हुन्छ भन्ने विस्वास छ, मलाई माया गरेर सहयोग गर्ने सबैलाई धन्यवाद ।’’
प्रतिक्रिया