प्रदेश

बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण



नेपालगञ्ज, ०३ कार्तिक । बाँकेको एक सामुदायिक वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ। डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक डा. शारदा श्रेष्ठका अनुसार उक्त पाटेबाघको परीक्षण रिपोर्टमा करङमा चोटपटक लागेको, लामो समयदेखि भोको भएको र निमोनियाको सङ्केत देखिएको छ।

बाघले कुनै पनि विषादी सेवन नगरेको रिपोर्टमा उल्लेख भएको पशु चिकित्सक डा। श्रेष्ठले जानकारी दिए। ‘उक्त बाघलाई कसैले विषादी सेवन गराएर मारेको हो कि भन्ने आशङ्कामा शवपरीक्षण गरिएको थियो‚ परीक्षणमा केही रोग र भोकका कारणले मरेको देखिएको छ’, डा. श्रेष्ठले भने।

जङ्गलमा पानीको खाडल नजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउचोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोकोजस्तो देखिने, मुखमा तथा अगाडितर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृतावस्थामा फेला परेको जनाइएको छ।

मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार बाघको मृत शरीरबाट नमुना सङ्कलन गरेर परीक्षण गरिएको थियो। सङ्कलन गरिएका नमुनाको नेपाल प्रहरीको नेपालगञ्जमा रहेको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बुढाथोकीले जानकारी दिए।

गत असोज १० गते बाँकेको राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वनक्षेत्रको घाटगद्दी स्थानमा उक्त पाटेबाघ बेवारिसे अवस्थामा मृत भेटिएको थियो।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६