बुटवल ७ कार्तिक ।म्याग्दीका एक युवाले तीन लाख ३० हजार रुपैयाँ तिरेर विजया दशमीको नवमीका दिन राँगोको मार हानेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा रहेको भगवती कोत मन्दिरमा प्रत्येक वर्ष नवमीका दिन बली चढाइने सरकारी राँगोको मार हान्न बोलकबोल हुने गरेको छ । यस वर्ष रघुगंगा–२ सिजलगाउँका एकेन्द्र भण्डारीले तीन लाख ३० हजार रुपैयाँ बुझाएर राँगोको मार हानेका छन् ।आइतबार राति भएको खुला बडीबढाउमा भण्डारीले सबैभन्दा बढी बोलकबोल गरेका थिए । उनले कोत मन्दिरमा विधिपूर्वक पूजाआजा गरेपछि रागोको मार हानेका छन् ।भण्डारीले आइतबार नै कबोल रकम भगवती कोतमन्दिर पूजा ब्यवस्थापन समितिलाई उपलब्ध गराइसकेका थिए । पूजा समितिले सरकारी राँगाको बढीबढाउ सुरुवाती मूल्य ६७ हजार रुपैयाँ राखेको थियो ।
सरकारी राँगो मार हानेका भण्डारीलाई पूजा समिति र स्थानीयबासीले अभिनन्दन गरेका छन् ।यसअघि ०७९ को नवमीमा तीन लाख १५ हजार, ०७८ को नवमीमा तीन लाख, ०७६ मा दुई लाख ८० हजार रुपैयाँमा सरकारी मारको बढीबढाउ भएको थियो । नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांक्षा पूरा हुने जनविश्वासका रहेकाले पूजा व्यवस्थापन समितिले बोलकबोलबाट मार हान्ने व्यक्तिको छनोट गर्ने गरेको समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिए ।हरेक वर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम बढ्दै गएको पूजा व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष थानबहादुर भण्डारीले बताए । तत्कालीन बाइसे÷चौबिसे राज्यकालदेखि नै यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । सरकारी मार हानेपछि पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ ।
७ कार्तिक २०८०, मंगलबार








प्रतिक्रिया