काठमाडौं, ०९ कात्तिक । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाली टिम १७३ औँ स्थानमा छ । नेपाल यसअघि वरीयताको १७५ औँ स्थानमा थियो ।
नेपालले अक्टोबरको फिफा विन्डोमा विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओससँग खेलेको थियो । दुई लेगमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा नेपालले १–१ को बराबरी खेल्दा दोस्रो लेगमा लाओसलाई उसैको मैदानमा १–० ले हराएको थियो ।
यही जितका कारण नेपालले वरीयतमा १० प्वाइन्ट थप गर्दै दुई स्थान सुधार गरेको हो । नेपाल १७५औँ स्थानमा रहँदा ९५३.८५ प्वाइन्ट थियो । हाल नेपालको प्वाइन्ट ९६३.८२ छ ।
फिफाको वरीयताअनुसार दक्षिण एसियामा भारत १०२औँ स्थानमा छ । माल्दिभ्स १६१औँ, भुटान १८२औँ, बंगलादेश १८३औँ, पाकिस्तान १९३औँ र श्रीलंका २०२औँ स्थानमा छ ।
विश्वकप विजेता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत् छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ ।
प्रतिक्रिया