काठमाडौँ २७ कार्तिक । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको १७ औं बैठकले पार्टीको प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ ।उपमहासचिव समेत रहेका स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गर्नुका साथै १४ वटा विषयगत डेस्क निर्माण समेत गरेको विभागका सदस्य विष्णु रिजालले जानकारी दिए । एमालेले पार्टीमा तीन तहको पाठ्यक्रम निर्माण गरेर नेता कार्यकर्ताहरुलाई पढाउने तयारी गरेको छ । ‘एमालेमा तीन तहको पाठ्यक्रम छ । जसमा प्राथमिक, माध्यामिक र उच्च तह । प्राथमिक तहको जिल्लामा चलाउने, माध्यामिक तहको प्रदेशमा र उच्च तहको काठमाडौमा चलाउने योजना हो’, रिजालले भने, ‘अहिले परिमार्जन गरिएको प्राथमिक तहको हो ।’
प्राथमिक तहको पाठ्यक्रम परिमार्जन गर्नुका साथै पाठ्पुस्तकको कन्टेन्ट समेत तयार पारेको नेता रिजालको भनाइ छ । एमालेले केन्द्रीय तहबाट ८८५ जना प्रशिक्षक तयार पारेको छ । जसमा प्रदेशस्तरमा ४०८ र जनसंगठन तथा केन्द्रीय तहमा चलाएको कार्यक्रममा ४७७ जना प्रशिकहरु तयार भएको एमालेले जनाएको छ । ती प्रशिक्षकहरुले जिल्ला, प्रदेश तथा संगठन मातहतमा पार्टी प्रशिक्षण दिने छन् ।
२७ कार्तिक २०८०, सोमबार
प्रतिक्रिया