गण्डकी

ढोरपाटनका ‘फरार’ मेयर भन्छन्– बचतकर्तालाई घर, जग्गा हस्तान्तरण गर्छु, वातावरण चाहियो




ढोरपाटन, ०५ मंसिर ।

पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष देवकुमार नेपालीले आफ्नो व्यक्तिगत सम्पत्ति बचतकर्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन्।

मंगलबार साँझ फेसबुक लाइभ आएर विज्ञप्ति जारी गर्दै उनले आफ्नो व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्दै सहकारीका बचतकर्तालाई सम्पत्ति हस्तान्तरण गर्ने बताएका हुन्। पोखरा र बागलुङमा गरी सहकारीमार्फत २ अर्ब बढी ठगी आरोप लागेका नेपाली ६ महिना अघिदेखि ‘फरार’ छन्।

बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट दोस्रो पटक मेयर जितेका नेपालीले विज्ञप्तिमा आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएकाले घरबाहिर बस्न बाध्य भएको बताएका छन्। विज्ञप्तिमा कसले उनलाई यस्तो धम्की दियो भन्नेबारे खुलाएका छैनन्।

‘६ लाख बचत भएका व्यक्तिहरूले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदिन भनेर दबाब दिएका कारणले म केही समयको लागि घरबाहिर बस्न बाध्य भएँ,’ उनले विज्ञप्तिमा भनेका छन्।

खातामा १० हजार हुनेले १० लाखको निवेदन दिएको र ५० लाख फिक्स्डमा भएकाले ९० प्रतिशत कर्जामार्फत् फिर्ता लगेर पनि ५० लाखकै दाबी गरेको भन्दै उनले २ अर्ब डिपोजिट हल्ला भएको दाबी गरेका छन्। कर्मचारीले मनोमानी तरिकाले कर्जा लगानी गरेर आफूहरूमाथि दोष लगाएको पनि उनको आरोप छ।

सहकारीको बचत फिर्ता गर्न आफूले ६ महिनाको समय माग्दासमेत बचतकर्ता पर्खन नसकेको, धम्की दिएको र केही बचतकर्ताले मुद्दा हालेकाले बाहिर निस्केर काम गर्न नसकेको उनले जिकिर गरेका छन्।

विज्ञप्तिमार्फत् आफ्नो र श्रीमती छेला नेपालीका नाममा रहेका घर जग्गा विवरण सार्वजनिक गर्दै उनले बचतकर्तालाई उक्त सम्पत्ति हस्तान्तरण गर्ने र यसका लागि वातावरण मिलाइदिन पनि अनुरोध गरेका छन्।

विज्ञप्तिमा उल्लेख भए अनुसार नेपालीले बुर्तिबाङ, बागलुङ बजार, पोखरा र काठमाडौंमा गरी ४५ कित्ता जमिन र १८ वटा घर भएको उल्लेख गरेका छन्।

घर जग्गा विवरणमा उनले बुर्तिबाङमा २९ वटा कित्ता जग्गा रहेको र ३ वटा होटल रहेको बताएका छन्। बुर्तिबाङमा ८ तला अग्लो होटल दरबार, ४ तलाको मिनी होटल दरबार र ४ तलाकै होटल दरबार रेष्टुरेण्ट रहेको उल्लेख गरेका छन्।

यस्तै, बागलुङ बजारमा ४ वटा कित्ता जग्गा र २ वटा भवन रहेको बताएका छन्। बागलुङ बजारमा रहेको कर्म कम्प्लेक्स ६ तला र मिनी कर्म कम्प्लेक्स ५ तलाको भवन रहेको उल्लेख गरेका छन्।

विज्ञप्ति अनुसार पोखरामा ६ कित्ता जमिन रहेको र ३ वटा भवन रहेको बताएका छन्।

पोखराको सिर्जनाचोकमा कर्म कम्प्लेक्स ९ तला, शिवालय चोकमा ५ तला र पृथ्वीचोकमा घर भएको पनि उनले बताएका छन्।

काठमाडौंमा ५ कित्ता जमिन र ६ वटा भवन रहेको उनले बताएका छन्। काठमाडौंको सुकेधारामा सानिमा बैंक भएको घरसहित ४ वटा घर, सुकेधारामै बजाज शोरुम भएको घर र सुकेधारामा कर्म कम्प्लेक्स रहेको उनले बताएका छन्।

‘सहकारीको समस्या समाधान नर्ग मेरो र मेरो श्रीमतीको नाममा भएका घर जग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहन्छु, हस्तान्तरणको वातावरण मिलाइदिनुहुन सरोकारवाला ज्युहरूलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।

पोखरा र बागलुङमा छुट्टाछुट्टै सहकारी खोलेर २ अर्ब बढी रकम अपचलन गरेको उनलाई आरोप छ। दुबै ठाउँमा खोलिएका एउटै नामको सहकारीका अध्यक्ष नेपाली नै बसेका थिए।

बागलुङका सहकारी पीडितले दिएका निवदेनका आधारमा १ हजार ४ सय ८१ जना बचतकर्ताको १ अर्ब ३० करोड ठगी आरोप लागेको छ। उक्त मुद्दा अहिले जिल्ला अदालत बागलुङमा विचाराधीन छ।

यस्तै, पोखरामा ५ सय बढी बचतकर्ताको ६५ करोडभन्दा बढी रकम ठगीको आरोप छ। पोखरामा सहकारी ठगी आरोपमा जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन रहेको पोखरा महानगरका सहकारी विभाग प्रमुख भरतराज पौडेलले बताए।

अदालतमा मुद्दा विचाराधीन भएकाले ढोरपाटनका मेयर एवं सहकारी अध्यक्ष नेपालीले प्रस्ताव गरे अनुसार पीडितलाई सम्पत्ति हस्तान्तरण हुन नसक्ने पौडेलले बताए।

‘मुद्दा फौजदारी प्रकृतिका मुद्दा अदालतमा विचाराधीन छ, अब पीडितलाई सम्पत्ति दिन्छु भनेर मात्र नहोला,’ उनले भने, ‘अदालती प्रक्रियामा पुगेकाले कानुनी प्रक्रियामा नआई उहाँलाई सुखै छैन।’

सहकारी ठगी अरोप लाग्न थालेपछि गत जेठ ५ गतेदेखि फरार अध्यक्ष नेपाली अदालतमा हाजिर हुनुपर्ने सहकारी रजिष्टारको कार्यालय गण्डकीका सूचना अधिकृत चोलाकान्त वाग्लेले बताए।

‘उहाँले लुकीछिपी प्रस्ताव गर्नुभन्दा अदालतमा आफ्नो गल्ती स्वीकार गरेर बचतकर्ताको रकम फिर्ता गर्नुतिर लाग्नुपर्छ,’ उनले भने, ‘मुद्दा अदालतमा विचाराधीन भएकाले पीडितलाई सम्पत्ति हस्तान्तरण गर्छु भनेर हुँदैन।’

नेपालीले तिर्नुपर्ने बिगो र कारबाही अदालतको फैसलामा आउने उनले बताए।

सहकारी ऐन २०७४ अनुसार पीडितको बचत अपचलन मुद्दामा बिगो अनुसारको जरिवाना र अधिकतम १० वर्ष कैद सजायको कानुनी व्यवस्था रहेको उनले बताए।

पोखरा र बागलुङमा गरी २ अर्ब बढी अपचलनको आरोप लागेपछि फरार भएका नेपालीलाई प्रहरीले खोजबिन गर्न टोली परिचालन गरेको थियो। प्रहरीले फेला पार्न नसकेपछि विदेश भाग्न नदिन अध्यागमन कार्यालयमा पत्राचार गरेको थियो भने गृह मन्त्रालयले इन्टरपोलमा ‘रेड कर्नर नोटिस’ जारी गरेर खोजविन गरेको थियो। यद्यपी, अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।

प्रकाशित : ५ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६