कावासोती १० मंसिर । नेपाली कांग्रेसका शीर्ष नेताहरु मंसिर ११ गते सोमबार नवलपुर आउने भएका छन् । पार्टीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, पुर्व महामन्त्री डा।शशांक कोइराला, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतका नेताहरु नवलपुर आउन लागेका हुन् ।देवचुली नगरपालिकाको दलदलेमा पत्रकार सम्मेलन गरी जिल्ला सम्मेलनको सबै तयारी पुरा भएको कांग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले जानकारी दिए ।
राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधानअनुसार नवलपुरमा पहिलो पटक सम्मेलन गर्न लागिएको उनको भनाइ छ ।सम्मेलनमा जिल्लाको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै प्रजातन्त्र सेनानीहरु, सहिद परिवार तथा जनआन्दोलन र जनयुद्धका घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।त्यसैगरी कांग्रेसको महासमिति बैठकमा पेश गर्नका लागि जिल्ला सम्मेलनले राजनीतिक प्रस्ताव पास गर्ने तथा नमूना सदरमुकाम, जिल्लाको नाम तथा जिल्लाको समग्र विकास निर्माण तथा जनजिविकाको विषयमा धारणा तय गरेर संघ र प्रदेश सरकारलाई पठाईने जिसीले बताए ।सम्मेलनको उदघाटन सत्रमा जिल्ला भरिका पार्टी कार्यकर्ता तथा आम सर्वसाधारणको उपस्थित रहने र बन्द सत्रमा जिल्ला भरिका ९२ वडाका १ हजार ९ सय ७२ प्रतिनिधि सहभागी हुने सभापति जिसीले जानकारी दिए ।
प्रतिक्रिया