प्रदेश

लुम्बिनी चिनी मिलको प्रदूषण कम गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा



बुटवल, १२ मंसिर ।

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै सुनवलवासी आन्दोलित भएका हुन् ।

सुनवलका स्थानीय बासिन्दाले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण सङ्घर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत मागबारे जानकारी दिएका हुन् । वि सं २०४६ सालमा तत्कालीन सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । यो समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएदेखि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुवाँ, खरानीले बजार प्रदूषित भएको उनीहरुको भनाइ छ । डिष्टिलरीबाट निस्किने दूषित फोहर पानीले सुनवल बजार नै दुर्गन्धित भइ मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पारिरहेको सङ्घर्ष समितिका उप संयोजक टेकप्रसाद न्यौपानेले बताए ।

चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्यूनीकरणका लागि विभिन्न सहमति सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वय गरेको छैन । मिल सञ्चालकले उद्योगबाट निस्किने धुवाँ, खरानी र फोहर दूषित पानी न्यूनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलवासी त्यसको प्रत्यक्ष मारमा परिरहेका सङ्घर्ष समितिका संयोजक युवराज ढकालले बताए ।

८६ बिगाहा क्षेत्रफलमा फैलिएको यो चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छ । मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरुमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहर हुनुकासाथै श्वास लिन समेत अप्ठ्यारो बनाएको उनीहरुको भनाइ छ । उता डिस्टिलरीबाट निस्किने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित हुँदै गएको सङ्घर्ष समितिको आरोप छ।

चिनी मिलबाट पालिकाको वडा १,३,४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसङ्ख्या प्रभावित बनेका छन् । प्रदूषण रोकथामका लागि सङ्घर्ष समितिले पटक पटक मिल र सरोकारवालाहरुसँग समन्वय सहकार्य गरे पनि कुनै सुनुवाइ नभएकाले सङ्घ समितिले आन्दोलन थप सशक्त बनाउने जानकारी दिएको हो ।

प्रकाशित : १२ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६