देश

के हो ‘नागरिक पहिलो’ अभियान ? यो दलकै रूपमा अघि बढ्छ ?



काठमाडौं, १३ मंसिर । ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ नारा दिइएको अभियान ‘नागरिक पहिलो’ घोषणा भएको छ । अभियानको दुईदिने प्रारम्भिक भेलासमेत सम्पन्न भइसकेको छ ।

सम्पन्न भेलाले प्रारम्भिक छलफल गरी पाँच ‘समस्या र पाँच समाधान’लाई समेट्दै अवधारणा(पत्र तयार गरेको छ, जुन केही दिनपछि सार्वजनिक गरिनेछ ।

ती पाँच समस्या र पाँच समाधानलाई लोकतान्त्रिक, प्रगतिशील, समावेशी र अग्रगामी आँखाले हेरियो र काम गरियो भने समस्याहरू न्यूनीकरण हुँदै जाने अभियन्ताहरूको भनाइ छ ।

यो मोडेल नागरिक पहिलो हुने मोडेल हुने अभियन्ताहरू बताउँछन् । “राज्य नागरिकमा निहित हुन्छ । राजनीति, अर्थनीति, कूटनीतिलगायतका सबै नीति निर्धारण गर्दा नागरिक केन्द्रीयता स्थापित हुनुपर्छ,” अभियन्ता सुरेन्द्र चौधरीले भने, “यो मोडेल भनेको नागरिक पहिलो हुने मोडेल हो ।”

पुराना दलहरू विकृति, विसङ्गति, भ्रष्टाचार, कुशासनबाट बाहिर निस्कन नसकेको र नयाँ दलहरूमा पृयतावाद देखिएको अभियानका अर्का अभियन्ता डम्बर खतिवडा बताउँछन् । “पुराना दलहरूमा असक्षमता देखियो । नयाँ दलहरूमा पनि पपुलिज्म देखियो । त्यसैले अब नागरिक आफैँले प्रतिपक्षको भूमिका निभाउनुपर्ने बेला भएको छ,” उनले भने ।

त्यसलाई आफूहरूले ‘जनप्रतिपक्ष’ भन्ने गरेको र अब त्यो स्थापित हुनुपर्ने खतिवडाको भनाइ छ । “अब दलहरूले प्रतिपक्षको भूमिका निभाउन सक्दैनन् । अब जनता आफैँ प्रतिपक्ष हुनुपर्छ,” उनले भने ।

सरकार जनसेवामा जुट्नुपर्नेमा आफैँ बाधक बनेर बसिरहेको भनाइ अभियानका अर्का अभियन्ता केशव दाहालको छ । “अब जनता विकल्पको खोजीमा छन् । यही मोडेलमा हुँदैन भन्ने जनतालाई थाहा भइसक्यो । सरकार आफैँ बाधक बनेको छ । यसमा नागरिक पहिलो हुनुपर्ने देखिन्छ,” दाहालले भने ।

उनले थपे, “लोकतन्त्रलाई दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, सिन्डिकेटतन्त्र, लुटतन्त्र र दलालतन्त्रमा सीमित र सङ्कुचन गरिनु देशको प्रमुख राजनीतिक समस्या हो । यसको समाधान एक नयाँ नागरिक आन्दोलनमार्फत प्रत्यक्ष, सहभागितामूलक, समावेशी, समानुपातिक, सभ्य र सुसंस्कृत लोकतन्त्र पुर्नस्थार्पित गर्नु हो । राजनीति र राजनीतिक संस्कृतिकै समग्र पुनर्गठन गर्नु हो ।”

अभियान दलको रूपमा अघि आउँछ ?

दुईदिने प्रारम्भिक भेलाले अभियानको अवधारणा पत्र पारित गरेको छ । यो केही दिनमा सार्वजनिक गरिने अभियन्ताहरूले बताएका छन् ।

“अवधारणा(पत्रले देशको राजनीतिक, आर्थिक, राजनीतिक, सामाजिक तथा भूराजनीतिक सङ्कटको चित्रण गर्दै पाँच समस्या, पाँच समाधान अगाडि सारेको छ,” अभियन्ताहरूले भनेका छन् ।

त्यसपछि पुनर्गठन, छलफल तथा संवाद गर्दै अगाडि बढ्ने अभियान्ताहरू बताउँछन् । सडक र सदन दुवैतिरबाट आफूहरूले सरकार झक्झक्याउने उनीहरूको भनाइ छ ।

दुईदिने भेलापछि मङ्गलबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले ‘यो अभियान दलको रूपमा अगाडि बढ्ने हो ?’ भनेर सोधेका थिए ।

जवाफमा अभियन्ता डम्बर खतिवडाले भने— अहिल्यै हामीलाई नेता बनिहाल्नुपर्छ भन्ने लागिसकेको छैन । हामीले जुन ‘पाँच समस्या र पाँच समाधान’को कुरा गरेका छौँ, ती कामहरू अरु नै दल तथा नेताहरूले नै गरेपनि हुन्छ । तर, यी कुराहरू हुनुपर्छ । हामी निरन्तर खबरदारी गरिरहनेछौँ ।

अभियन्ताहरूले यो अभियानले दलकै रूप लिने सङ्केत गरेका छन् । २५६ सदस्यीय अभियानमा विचार र बाटो मिल्ने केही राजनीतिक दलहरूसमेत रहने उनीहरूले बताएका छन् ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६