महोत्तरी १३ मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।पार्टीका ६ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ । स्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी दिए ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए । यस्तै रास्वपाका इन्दिरा राना उपसभामुख रहेकाले उनको अहिले पार्टीमा भूमिका छैन ।
प्रतिक्रिया